जनकपुरमा पत्रकार महासंघ र बार एसोसिएसनबीच विवाद टुंगियो

जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समिति र नेपाल बार एसोसिएसन, जनकपुरबीच गुठी जग्गा विवाद आपसी सहमतिमा समाधान गरिएको छ। दुवै पक्षबीच उच्चस्तरीय वार्ता समितिको पहलमा मङ्गलबार मिलापत्रमा हस्ताक्षर गर्दै विवाद अन्त्य गरिएको हो।

सम्झौता अनुसार पत्रकार महासंघले गुठी संस्थानबाट लिजमा पाएको ४ कठ्ठा जग्गामध्ये १ कठ्ठा १ धुर जग्गा बार एसोसिएसनलाई पार्किङ प्रयोजनका लागि लिजमा दिने भएको छ। बाँकी ३ कठ्ठा जग्गा भने महासंघले आफ्ना बहुउद्देश्यीय क्रियाकलापका लागि प्रयोग गर्नेछ।

घटनाक्रमका क्रममा घाइते भएकाप्रति दुःख प्रकट गर्दै दुवै संस्थाले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै दुई दिनभित्र आपसी विवादका आधारमा दायर भएका कानुनी कारबाही फिर्ता गर्ने वा कानून बमोजिम निस्क्रिय बनाउने सहमति भएको छ। सामाजिक सञ्जालमा एकअर्काप्रति नकारात्मक टिप्पणी नगर्ने प्रतिबद्धता पनि मिलापत्रमा उल्लेख छ।

भविष्यमा पेशागत मर्यादा, सामाजिक न्याय र लोकतन्त्रलाई सबल बनाउन सहकार्य गर्दै अघि बढ्ने संकल्प दुवै संस्थाले गरेका छन्। सहमति पत्रमा महासंघका अध्यक्ष श्यामप्रसाद बन्जारा र बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्।

सम्झौताका लागि बार एसोसिएसनतर्फ केन्द्रीय सचिव अधिवक्ता बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र अधिवक्ता श्यामकुमार मिश्र सहभागी थिए। पत्रकार महासंघतर्फ केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको नेतृत्वमा केन्द्रीय सदस्य राजेश कर्ण र राजु विश्वकर्मा वार्तामा सहभागी भएका थिए।

साउन २७ गते बार एसोसिएसनले सो जग्गामा पार्किङ बनाउन खोज्दा भएको झडपका क्रममा पत्रकार महासंघका प्रदेश अध्यक्षसहित उपाध्यक्ष, महासचिव र केही पत्रकार घाइते भएका थिए। त्यसैबेलादेखि विवाद चर्किएको थियो, जसलाई अन्ततः वार्ता तथा संवादमार्फत टुंग्याइएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज