लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सबै वडामै सञ्चालन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई औपचारिक कार्यक्रममा सीमित नराखी देशका ६,७४३ वटै वडामा जनचेतना अभिवृद्धि, हिंसा रोकथाम, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने गरी सञ्चालन गर्ने निर्णय गरेको छ। मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको सभापतित्वमा बीपी स्मृति भवन, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णय नम्बर ९ अनुसार लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता भन्ने मूल नाराका साथ सञ्चालित अभियानप्रति पार्टीले पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ। बैठकले देशभरका सबै तहका संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थालाई वडस्तरसम्म पहल र पैरवी गर्न निर्देशन दिएको छ।

कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयास संस्थागत गर्न लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने निर्णय पनि गरेको छ। प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको सम्मान, सुरक्षा, न्याय र समानताको अधिकार सुनिश्चित गर्न नीति, दृष्टिकोण र अडानबारे सुझाव दिनेछ।

यसका साथै प्रतिष्ठानले नीति प्रस्ताव तथा नीतिगत पैरवी सामग्री तयार गर्ने, पार्टीको आन्तरिक संरचना, नीति, निर्णय प्रक्रिया र सांगठनिक अभ्यासलाई लैङ्गिकमैत्री, अपाङ्गतामैत्री र समावेशी बनाउन पैरवी गर्ने, पार्टीभित्र हुने लैङ्गिक हिंसा, उत्पीडन तथा विभेदसम्बन्धी गुनासोको संवेदनशील र गोप्य सुनुवाइ गरी सुधार वा कारबाहीका लागि सिफारिस गर्ने, विभिन्न तहमा तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र सरोकारवालासँग संवाद तथा सहकार्य गर्ने जिम्मेवारी पाउनेछ। 

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज