काठमाडौँ । बारा बलात्कार घटनाका आरोपितको बयानसहितको नाबालकको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोप्रति काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले आपत्ति जनाएका छन् ।अध्यक्ष श्रेष्ठले अदालतबाट अन्तिम फैसला नआउँदै अनुसन्धानको चरणमा रहेको गम्भीर प्रकृतिको अपराधमा नाबालकको भिडियो यसरी बाहिर ल्याउनु न्यायिक प्रक्रियाविपरीत भएको स्पष्ट पारेका छन्।
बलात्कार र हत्याजस्तो गम्भीर फौजदारी कसुरको कानुनी अनुसन्धान चलिरहेको समयमा अभियुक्तमाथि प्रश्न उठ्नुलाई स्वाभाविक मानिए पनि न्यायिक मर्यादा र संवेदनशीलताको ख्याल गर्नुपर्नेमा उनले जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष श्रेष्ठले सत्यतथ्य बाहिर आउनुपर्ने र दोषीले कानुनबमोजिम सजाय पाउनुपर्ने भए पनि पीडितको पीडालाई केवल ‘कन्टेन्ट’ तथा अभियुक्तको बयानलाई ‘भाइरल सामग्री’ बनाउने प्रवृत्ति गलत भएको औँल्याएका हुन्।
संवेदनशील विषयमा समाचार वा सूचना सम्प्रेषण गर्दा मानवीय मर्यादालाई केन्द्रमा राख्न उनले सचेत गराएका छन्। न्याय र सत्यको खोजी न्यायपूर्ण बाटोबाटै हुनुपर्ने कुरामा जोड दिँदै अध्यक्ष श्रेष्ठले मानवीय मर्यादा र संवेदनशीलता जोगाएर मात्र विषयवस्तुलाई बाहिर ल्याउन सञ्चारमाध्यम तथा आम सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन्।

