काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको हिंसात्मक झडपमा परी एक जनाको ज्यान गएपछि गृह मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ। स्थिति नियन्त्रणमा लिन नसकेको र सुरक्षा व्यवस्था फितलो भएको भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित प्रदेश र जिल्ला तहका प्रहरी कमाण्डरहरूलाई फिर्ता बोलाएको हो।
मन्त्रालयले घिमिरेलाई गृहमा तानेर संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरीको नयाँ सीडीओका रूपमा खटाएको छ। शान्ति सुरक्षाको स्थिति पुनरावलोकन गर्दै गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा तानेर उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरी त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको नेतृत्व सुम्पिएको छ। यस्तै, कप्तानगञ्जमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाउँदै सशस्त्र प्रहरी प्रधान कार्यालयका डीएसपी मदन नाथलाई सो स्थानमा खटाइएको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको दुई समूहबीचको झडपले हिंसात्मक रूप लिँदा एक जनाको निधन भएको थियो। उक्त घटनामा परी ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भइसकेको छ, जसलाई एक साताभित्र सत्यतथ्यसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। घटनापछि थप अशान्ति र सम्भावित मुठभेड रोक्न जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरी कडा सुरक्षा घेरा कायम गरेको छ।

