विशेष अदालत बारमा युवराज बन्जाडे निर्विरोध अध्यक्ष निर्वाचित

काठमाडौं । विशेष अदालत बार एसोसिएसनको अध्यक्ष पदमा नेकपा एमालेनिकट कानून व्यवसायी समूह पिपिएलएसम्बद्ध अधिवक्ता युवराज बन्जाडे निर्विरोध निर्वाचित भएका छन् । बबरमहलस्थित एसोसिएसनको निर्वाचन समितिले मंसिर १२ गते अपराह्न सवा चार बजे सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अध्यक्षसहित अधिकांश पदमा निर्विरोध चयन भएको हो ।

उपाध्यक्ष पदका लागि भने मतदान भएको थियो । उपाध्यक्षमा अधिवक्ता बोलाराम पाण्डे ४९ मत प्राप्त गरी विजयी भएका छन् । उनकी निकटतम प्रतिस्पर्धी अधिवक्ता आकृति अधिकारीले १९ मत प्राप्त गरिन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार सचिवमा बसन्त जोशी, महिला सहसचिवमा मौसम राई र कोषाध्यक्षमा विपिन कोइराला निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यमा कविता आचार्य निर्विरोध चुनिएकी छन् ।

सात जनाको कोटा रहेको खुला सदस्य पदमा सुजता घिमिरे, भोविन्द्र बहादुर साह, सन्तोष कोइराला, प्रभात विक्रम कटवाल, सुजाता के.सी., दिवस बस्याल र रोहित ओझा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय कार्यकारिणी परिषद् सदस्य (पार्षद्) पदमा प्रकाश पोखरेल र आभास रेग्मी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता चुडामणी पौडेल तथा निर्वाचन अधिकृतद्वय अधिवक्ता रामहरि रेग्मी र अधिवक्ता कोपिला बस्नेतले हस्ताक्षर गरी उक्त निर्वाचन परिणाम सार्वजनिक गरेका हुन्।

कानूनी व्यवस्थाअनुसार नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० तथा नेपाल बार एसोसिएसनको विधानबमोजिम बार एकाइहरूको कार्यसमिति चयन हुने गर्दछ । विशेष अदालतमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा राज्यविरुद्धका विशेष प्रकृतिका मुद्दामा बहस पैरवी गर्ने कानून व्यवसायीहरूको पेशागत हकहित र संस्थागत समन्वयमा यस एसोसिएसनले भूमिका खेल्ने गर्दछ । नयाँ कार्यसमिति चयन भएसँगै विशेष अदालतको न्याय सम्पादनमा बार र बेन्चबीचको समन्वय तथा कानून व्यवसायीको पेशागत क्षमता अभिवृद्धिमा यो नेतृत्वले काम गर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज