पार्टीको झण्डा र चिह्न दुरुपयोग रोक्न कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नाम, लेटरप्याड, झण्डा र चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कारबाही तथा कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। मंसिर ८ देखि ११ गतेसम्म सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीले विसं २०८३ मंसिर १२ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिको निर्णय नम्बर ७ अनुसार केही व्यक्ति तथा समूहले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा र चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्दै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ। बैठकले त्यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै सर्वसाधारण, सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको ठहर गरेको छ।

कांग्रेसले विसं २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको म्यान्डेट तथा विधानको धारा ४३ अनुसार विसं २०८३ असोज १६ देखि २३ गतेसम्म १५औँ नियमित महाधिवेशन सम्पन्न भई गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिमा भएको परिवर्तन र विधान संशोधनको विवरण निर्वाचन आयोगबाट विसं २०८३ मंसिर ८ गते अद्यावधिक भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

बैठकले पार्टीको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग गरी गतिविधि सञ्चालन नगर्न, नगराउन र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक प्रचारप्रसार नगर्न आग्रह तथा अपिल गरेको छ। त्यस्तो कार्य नरोकिए पार्टीको विधान र प्रचलित नेपाल कानूनबमोजिम आवश्यक कारबाही तथा कानूनी प्रक्रिया अगाडि बढाइने निर्णय भएको छ। साथै, निर्वाचन आयोगलगायत अधिकारप्राप्त निकायलाई पनि कानूनी दायित्व निर्वाह गरी अनधिकृत गतिविधि रोक्न कदम चाल्न अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज