काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जना पदाधिकारीलाई तोकिएको धरौटी रकम बुझाएर रिहा हुन अनुमति दिएको हो।
अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीका अनुसार इजलासले कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डेलाई १२ लाख रुपैयाँ धरौटी दाखिला गर्न आदेश दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिनका क्रममा केही दिनअघि उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
सीआईबीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार दुवै जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दाको थुनछेक बहसपछि अदालतले साधारण तारेखमा नछाडी कानून बमोजिम धरौटी माग गर्ने निर्णय गरेको हो।

