मुद्दा विचाराधीन रहेकाले दोषी करार नगर्न पूर्वन्यायाधीश थपलियाको आग्रह

काठमाडौं । उच्च अदालतका पूर्वन्यायाधीश डा. नवराज थपलियाले आफूमाथि लागेका आरोपहरू निष्पक्ष छानबिन र अन्तिम न्यायिक निर्णय नभएसम्म दोषीका रूपमा प्रचार नगर्न आग्रह गरेका छन्। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारलाई लक्षित गरी भइरहेका टिप्पणीप्रति आपत्ति जनाउँदै उनले सार्वजनिक वक्तव्य मार्फत आफ्नो धारणा स्पष्ट पारेका हुन्।

न्याय परिषद्बाट आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन हाल विचाराधीन रहेको उल्लेख गर्दै उनले अन्तिम फैसला नआउँदै दोषी ठहर गर्नु कानून र न्यायको मान्यता विपरीत हुने बताएका छन्। संविधान अनुसार आफूलाई प्रतिवादको उचित मौका नदिई तयार पारिएको प्रतिवेदनका आधारमा कारबाही गरिएको दाबी गर्दै उनले सर्वोच्च अदालतबाट हुने अन्तिम फैसला र कानून बमोजिमको परिणामलाई सहर्ष स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्।

मुद्दा मिलाउन भन्दै एक महिलासँग ६० लाख रुपैयाँ मागेको भन्ने आरोपको खण्डन गर्दै पूर्वन्यायाधीश थपलियाले सम्बन्धित महिलासँग आफ्नो कुनै प्रकारको सम्पर्क वा सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। युनिटी लाइफ ठगी मुद्दा तथा पूर्वप्रधानन्यायाधीश लगायत अन्य व्यक्तिहरूसँग जोडेर आएका समाचारहरू तथ्यहीन रहेको उल्लेख गर्दै उनले यस विषयमा निष्पक्ष छानबिन भए जुनसुकै कारबाही भोग्न आफू तयार रहेको बताएका छन्।

राज्यका आधिकारिक निकायबाट हुने जुनसुकै छानबिनमा पूर्ण सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले न्यायिक निर्णय आउनुअघि नै चरित्रहत्या हुने गरी समाचार प्रकाशित नगर्न अनुरोध गरेका छन्। संविधान र प्रचलित कानूनले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा परिवारको गोपनीयताको रक्षा गरिदिन पनि उनले न्यायिक नेतृत्व र सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज