काठमाडौँ । सर्वोच्च अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सम्पूर्ण उपकरणसहित उपस्थित हुन प्रहरीका नाममा आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गत भदौ ४ गते प्रसाईंको निवासबाट नियन्त्रणमा लिइएका सामानसहित अदालतमा उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्ने आदेश दिएको हो।
अनुसन्धानको प्रयोजनका लागि भन्दै जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंको घरबाट ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर (डिभाइस) नियन्त्रणमा लिएको थियो। प्रहरीले ती उपकरणहरूलाई फरेन्सिक जाँचका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको दाबी गर्दै आएको छ।
प्रसाईंलाई घरबाहिर निस्किन नदिई प्रहरीले स्थान हद तोकेजसरी नियन्त्रणमा राखेको भन्दै उनकी पत्नी उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमाथि सुनुवाइ गर्दै इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले पक्राउ वा नियन्त्रणमा राख्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिएको छ।

