आरोपीको संवेदनशील भिडियो खिच्ने प्रहरी हवल्दारविरुद्ध दुई कसुरमा मुद्दा दर्ता, ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा बालिका गरिमा चौधरीको हत्या सम्बन्धी घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको संवेदनशील भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विकविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत विकमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाइएको हो।

प्रहरीका अनुसार, पक्राउ परेका आरोपीलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा हवल्दार विकले घटनासँग सम्बन्धित बालबालिकासँग जोडिएको संवेदनशील भिडियो खिचेका थिए। उक्त भिडियो उनले आफ्नो फेसबुक मेसेन्जरमार्फत जापानमा रहेका साथीलाई पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको अनुसन्धानमा खुलेको छ।

भिडियो प्रकरणमा पक्राउ परेका हवल्दार विकलाई बारा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि चार दिनको थुना म्याद लिइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले भिडियो खिच्ने तथा बाहिर ल्याउने कार्यमा अन्य प्रहरी कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। अनुसन्धानका क्रममा पीडित तथा आरोपितको गोपनीयता कायम राख्नुपर्ने संवेदनशील विषयमा प्रहरी कर्मचारीबाटै मर्यादा विपरीत कार्य भएकाले कडा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज