कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधान र प्रदेशसभा नियमावली बमोजिम प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। सोमबार विराटनगरस्थित प्रदेशसभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले बहुमतका लागि आवश्यक ४७ मतभन्दा बढी अर्थात् ५७ मत हासिल गर्दै सरकारको संवैधानिक एवं कानुनी वैधता कायम राखेका हुन्।

कुल ९२ सदस्यीय प्रदेशसभामा भएको मतदानमा ८३ जना सांसद सहभागी भएका थिए भने प्रस्तावको विपक्षमा २२ मत परेको थियो। यस्तै चार जना सांसदले मत नदिने (तटस्थ) निर्णय गर्दा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित रहेकी थिइन्।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को व्यवस्था अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। सरकारको प्रमुख साझेदार रहेको नेपाली कांग्रेसले गत भदौ ३ गते आफ्नो समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यता अनुसार मुख्यमन्त्रीले संसद्‌मा पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो। गत साउन ९ गते नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमतिसँगै निर्मित नयाँ सत्ता समीकरण अनुसार कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसदले विश्वासको मत दिएका हुन्।

यसअघि २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक ५७ मत र सत्ता समीकरण फेरिएपछि २०८१ असोज २ गते दोस्रो पटक ६६ मतका साथ विश्वासको मत प्राप्त गरेका थिए। हाल ९२ सदस्यीय कोशी प्रदेशसभामा सत्ता साझेदार एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसदका अतिरिक्त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जसपा नेपालका १ जना सांसद रहेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज