काठमाडौँ । पोखरी निर्माणका क्रममा सरकारी छाप तथा लेटर प्याड किर्ते गरेको आरोप लागेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव जिल्ला प्रहरी कार्यालयमा आफै हाजिर भएका छन्। नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका उनी सोमबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका हुन्।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादवविरुद्ध सरकारी लिखत किर्ते गरी दुरुपयोग गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाउन अदालतले गत साउन २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउबाट बच्न यादवले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए।
यद्यपि, उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि उनीविरुद्ध पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बाटो खुलेको थियो। अदालतको आदेशपछि प्रहरी घेराबन्दीमा परेका यादव सोमबार आफै उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए। प्रहरीले किर्ते कसुरमा थप अनुसन्धान अघि बढाउन जिल्ला अदालतबाट म्याद थपको कानूनी प्रक्रिया सुरु गरिसकेको छ।

