व्यवसायी गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार गोल्छाको बकपत्र तथा थुनछेक बहसपछि उक्त धरौटी तोक्ने आदेश जारी गरेको हो। अदालतमा स्वयं उपस्थित भएका गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत दायर मुद्दामा विशेष अदालत ऐन, २०५९ को प्रक्रिया बमोजिम थुनछेक बहस गराई पुर्पक्षका लागि धरौटी माग गरिएको हो।

यसअघि पनि उनी अर्कै कसुरमा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। गत साउन १२ गते काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरेपछि उनी धरौटी बुझाएर छुटेका थिए। जिल्ला अदालतको आदेशलगत्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनछेक बहस सकिएसँगै विशेष अदालतले पनि गोल्छासँग पुनः एक करोड रुपैयाँ धरौटी माग गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज