दार्चुलामा प्रधानाध्यापकद्वारा विद्यालयकै आवासमा आत्म *हत्या

काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरास्थित श्री सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यालयकै आवासगृहमा आत्म*हत्या गरेका छन्। आफूलाई कल्पित र झुटा बलात्कारको आरोप लगाएर सामाजिक प्रतिष्ठा र आत्मस्वाभिमानमा गम्भीर चोट पुर्‍याइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत सु*साइड नोट सार्वजनिक गरेर आत्म*हत्या गरेका हुन्।

लामो समय रामेछाप जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याई गृह जिल्लाको विद्यालयलाई नमुना बनाउने संकल्पका साथ वि.सं. २०७७ सालमा सरुवा भई आएका ती प्रधानाध्यापकले आफू स्थानीय राजनीतिक र विद्यालयभित्रकै केही शिक्षकहरूको घेराबन्दी तथा प्रतिशोधको सिकार भएको उल्लेख गरेका छन्। उनले आफ्नो मृत्युको कारक विद्यालयका शिक्षक, स्थानीय ठेकेदार र राजनीतिक दलका नेतासहित आठ जनाको नाम र मोबाइल नम्बर नै किटान गरेर कल डिटेल र प्रमाणका आधारमा हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्।

प्रधानाध्यापकले सार्वजनिक गरेको सुसाइड नोट अनुसार विद्यालयमा आफूले पदभार ग्रहण गरेपछि भौतिक पूर्वाधार निर्माण, प्राविधिक धारको स्थापना, डिजिटल र स्मार्ट कक्षाकोठा सञ्चालन तथा विद्यालयको खातामा रहेको मौज्दात रकम बढाउनेसम्मका ४६ बुँदे उदाहरणीय सुधारका कार्यहरू गरेका थिए। तर विद्यालयका शिक्षकहरू दलिदत्त भट्ट, पदमराज भट्ट, हरि भट्ट, पुष्करराज भट्ट र दम्फा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द भट्ट लगायतको समूहले आफू प्रधानाध्यापक बन्न नपाएको र विद्यालयका पुराना सामग्री व्यक्तिगत रूपमा लिन नपाएको रिसिइबी साध्दै आएका थिए। यसै क्रममा गत वैशाख महिनामा विद्यालयकै कक्षा ५ मा अध्ययनरत एक बालिकामाथि भएको भनिएको बलात्कारको घटनामा विद्यालयका अर्का शिक्षक नवराज सरलाई प्रहरीले पक्राउ गरेपछि उक्त गिरोहले प्रधानाध्यापकलाई समेत योजनाबद्ध रूपमा फसाउन गाउँभरि हल्ला फैलाएको सुसाइड नोटमा खुलाइएको छ। घटनालाई तोडमरोड गरी ठेकेदार खेमराज भट्टले गरिबीको फाइदा उठाउँदै पीडितका आमाबुबालाई पैसा खुवाएर आफूलाई अपराधी किटान गर्ने प्रपञ्च रचेको र केही अनुसन्धानकर्ता समेत उनीहरूसँगै मिलेर मानसिक रूपमा प्रताडित गरेको आरोप प्रधानाध्यापकले लगाएका छन्।

आफ्नो उच्च आचरण, सामाजिक चरित्र र निष्ठामाथि हमला गरिएपछि तीव्र मानसिक तनाव र डिप्रेसनको सिकार भई बाध्य भएर आत्महत्याको निर्णयमा पुग्नुपरेको उनले लेखेका छन्। उनले सम्माननीय प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सिंगो राज्य संयन्त्रसँग आफ्नो मृत शरीरको डीएनए परीक्षण गराएर मात्र अन्त्येष्टि गर्न माग गरेका छन्। डीएनए परीक्षणको रिपोर्ट नकारात्मक आउने दाबी गर्दै उनले सारा दुनियाँसामु आफ्नो निर्दोषिता प्रमाणित गरिदिन र ती अबोध बालिकालाई बलात्कार गर्ने वास्तविक अपराधी पत्ता लगाउन माग गरेका छन्।

आफ्नी श्रीमती सीता तथा छोराहरू राजेश र राकेशलाई सम्बोधन गर्दै उनले अबका दिनमा कसैलाई पनि शिक्षण पेसा रोज्न नलगाउनू भन्दै आफ्नो न्यायका लागि सर्वोच्च अदालतसम्म कानुनी लडाइँ लडिदिन आग्रह गरेका छन्। आफूले प्रयोग गर्दै आएको विद्यालयको पोसाक र नमुना विद्यालयको डीपीआर गोरखनाथ मन्दिरको जिम्मा लगाएको उल्लेख गर्दै उनले आफ्नो परिवार र सिउँदो पुछिएकी श्रीमतीले न्याय पाउनुपर्ने अन्तिम इच्छा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज