प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध कुल १६ वटा उजुरी दर्ता 

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध उजुरीको संख्या १६ पुगेको छ। समितिको वैशाख २५ गते बसेको बैठकले १० दिनको समयसीमा तोकेर आह्वान गरेबमोजिम अन्तिम दिनसम्म डा. शर्माविरुद्ध कुल १६ वटा उजुरी दर्ता भएका हुन्। सङ्घीय संसद् सचिवालयका अनुसार उजुरी दिने निर्धारित समय आज सोमबारसम्म मात्र बाँकी थियो र सो अवधिसम्म ती उजुरीहरू संकलन भएका हुन्।

समिति सचिवालयले सर्वसाधारण र सरोकारवालाहरूका लागि उजुरी दिन हुलाकदेखि इमेलसम्मको सहज व्यवस्था मिलाएको थियो। यसका साथै सिधै सचिवालयमा पुगेर पत्रमार्फत, सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखी र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी बुझाउने व्यवस्था गरिएको थियो। समितिले उजुरी दर्ता गर्दा विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउनुपर्ने सर्त राखेको थियो।

अब प्राप्त भएका यी सबै १६ वटा उजुरीहरू भोलि जेठ ५ गते बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सबै सदस्यहरूको रोहबरमा विधिवत् रूपमा खोलिनेछ। उजुरीहरू खोलेपछि त्यसको विस्तृत अध्ययनका लागि समितिका सबै सदस्यहरूलाई प्रतिलिपि वितरण गरिनेछ। संवैधानिक परिषद्को सिफारिसमा परेका डा. शर्मामाथि लागेका यी उजुरीहरूमाथि समितिले अध्ययन र सुनुवाइको प्रक्रिया अघि बढाउनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज