खुर्कोट हिरासत मृत्यु प्रकरणको प्रतिवेदन बुझाइयो, इन्स्पेक्टरसहित दुई जनालाई विभागीय कारबाहीको सिफारिस

काठमाडौँ । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण बिकको मृत्यु भएको घटनाबारे छानबिन समितिले आफ्नो प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई बुझाएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी दिनेश आचार्य नेतृत्वको समितिले तयार पारेको उक्त प्रतिवेदन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीमार्फत गृह मन्त्रालयमा पठाइएको छ।

छानबिनले बिकको मृत्यु झुन्डिएर नै भएको निष्कर्ष निकाले पनि सुरक्षा व्यवस्थामा लापरबाही देखिएको भन्दै इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर वसन्त भुजेल र सो दिन ड्युटीमा रहेका एक प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

सुनकोशी गाउँपालिकाका २३ वर्षीय बिक वैशाख ७ गते हिरासतको शौचालयमा मृत भेटिएका थिए। प्रहरीले उनी आफ्नै शर्टको पासो लगाएर झुन्डिएको दाबी गरेको थियो भने रास्वपा सांसद खगेन्द्र सुनार लगायतले मृत्युलाई शङ्कास्पद भन्दै कुटपिटको आशंका गरेका थिए। तर, त्रिवि शिक्षण अस्पतालमा चार जना चिकित्सकको संलग्नतामा गरिएको पोस्टमार्टम रिपोर्ट र छानबिन समितिको स्थलगत अध्ययनले मृतकको शरीरमा कुनै चोटपटक वा निलडाम नदेखिएको र मृत्युको कारण झुन्डिनु नै रहेको पुष्टि गरेको छ। समितिका सदस्यहरूका अनुसार पोस्टमार्टम रिपोर्ट ढिला आउँदा प्रतिवेदन बुझाउन केही समय लागेको हो।

प्रतिवेदनमा थुनुवाको सुरक्षाको मुख्य दायित्व युनिट इन्चार्जको हुने भएकाले सुरक्षा कमजोरीमा जवाफदेही बनाउन सिफारिस गरिएको छ। यसका साथै समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन हिरासतमा मानव अधिकार र मौलिक अधिकारको रक्षा तथा सुरक्षा व्यवस्था मजबुत बनाउने सम्बन्धमा प्रहरी हेडक्वार्टरलाई विस्तृत सुझावहरू समेत दिएको छ। वैशाख ११ मा गठित यस समितिमा एसपी रवीन्द्रनाथ पौडेल र सीआईबी तथा अपराध अनुसन्धान कार्यालयका अधिकारीहरू सदस्यका रूपमा सहभागी थिए।

सम्बन्धित समाचार

ताजा न्यूज