काठमाडौं । ललितपुर जिल्ला अदालतले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै खाजा समयमा समेत सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको छ। अदालतको प्रशासन शाखाले मंगलबार एक सूचना प्रकाशित गरी अदालतमा कार्यरत कर्मचारीहरूको खाजा समयमा अबदेखि सेवा प्रवाह नरोकिने जानकारी दिएको हो।
यसअघि यस अदालतमा आइतबारदेखि बिहीबारसम्म दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म र शुक्रबारका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म खाजा समय तोकिएको थियो। उक्त समयमा कर्मचारीहरू खाजाका लागि छुटिने हुँदा नियमित सेवा प्रवाहमा केही समय रोकावट हुने गरेको थियो। तर सेवाग्राहीको चाप र कार्यसम्पादनलाई मध्यनजर गर्दै अदालतले आजैका मितिदेखि लागू हुने गरी खाजा समयमा पनि कुनै अवरोध विना सेवा दिने व्यवस्था मिलाएको छ।
२०८२ साल चैत १७ गतेदेखि कार्यान्वयनमा आएको यो नयाँ व्यवस्थाले अदालतमा काम लिएर आउने सेवाग्राहीहरूलाई थप सहज हुने र उनीहरूले खाजा समयकै कारण पर्खिनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ। अदालतले सम्पूर्ण सेवाग्राहीहरूको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरेको हो।


