काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको पदबाट बिदाइसँगै महान्यायाधिवक्ता सविता भण्डारी बरालको कार्यकाल पनि विवादकै बिचमा सकिने निश्चित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएकी भण्डारीको साढे ६ महिना लामो कार्यकाल सरकारी वकिलको कार्यालयको इतिहासमा न्याय सम्पादनको एउटा विवादास्पद अध्यायका रूपमा अन्त्य भएको छ। पदमा रहँदा उनले गरेका कयौँ निर्णयहरू विधिको शासन जोगाउनभन्दा पनि शक्ति केन्द्र र पहुँचवालालाई कानुनी राहत दिन केन्द्रित भएको गम्भीर आरोप लागेको छ।
भण्डारीको कार्यकालमा सबैभन्दा बढी नैतिक प्रश्न आफ्नै छोरी जोडिएको होप फर्टिलिटी डिम्ब तस्करी प्रकरणमा उब्जियो। स्वार्थको द्वन्द्व छल्नका लागि उनले आफू अलग बसेको देखाएर नायव महान्यायाधिवक्ता तहबाट मुद्दा नचल्ने निर्णय गराए पनि यसलाई राज्य शक्तिको चरम दुरुपयोगका रूपमा हेरिएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अभियोग पत्र संशोधन गर्ने र रेडकर्नर नोटिसमा रहेका जीवी राई लगायतलाई समेत राहत पुग्ने गरी मुद्दा फिर्ता लिने उनको कदमले न्यायको मर्ममाथि नै प्रहार गरेको छ।
राजस्व चुहावट र कर छलीका गम्भीर फाइलहरूमा पनि उनले कार्यकालको अन्त्यतिर देखाएको सक्रियता निकै संदेहास्पद देखिन्छ। नयाँ आउने नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुको साटो आफैँले हतार हतार मुद्दा नचल्ने निर्णय गरेर फाइलहरू टुङ्ग्याउनुले उनको कार्यशैलीमाथि थप संशय जन्माएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्नु र नाबालिग बलात्कारका आरोपित सुशील चटौतलाई सफाइ दिने निर्णयमा मौनता साँध्नुले महान्यायाधिवक्ता कार्यालय पीडितको पक्षमा उभिन नसकेको प्रस्ट पार्छ।
अग्नि खरेलपछि यो पद सम्हालेका रमेश बडाल, डा। दिनमणि पोखरेल र खम्मबहादुर खातीका कार्यकाल पनि राजनीतिक पूर्वाग्रह र विवादबाट अछुतो रहन सकेनन्। यसै शृङ्खलाको पछिल्लो कडीका रूपमा हेरिएकी भण्डारीलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले समेत सदस्यता निलम्बन गर्ने निर्णय गर्नुले उनको छविमा लागेको दागलाई थप प्रस्ट पारेको छ। अब सोभिता गौतमले कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने र महान्यायाधिवक्तामा कुनै नयाँ र युवा अनुहार आउने चर्चाले न्याय क्षेत्रमा नयाँ आशा जगाए पनि भण्डारीले छाडेर गएका विवादका प्रश्नहरू भने लामो समयसम्म जीवितै रहने देखिन्छ।

