बालेन्द्र शाहले सम्हाले मुलुकको बागडोर: ३६ वर्षको उमेरमा बने नेपालको प्रधानमन्त्री

काठमाडौं । नेपाली राजनीतिमा एउटा नयाँ युगको सुरुवात गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले मुलुकको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपति पौडेलले शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संवैधानिक इतिहासमा यो धारा प्रयोग भई प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएका छन्। फागुन २१ को निर्वाचनमा उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै ५० हजारको फराकिलो मतान्तरले पराजित गरेका थिए। ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरका र मधेशी समुदायबाट यो पदमा पुग्ने पहिलो व्यक्ति समेत बनेका छन्।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् भने उनको मन्त्रिपरिषद्‌मा विज्ञ र युवा अनुहारहरूको वर्चस्व देखिएको छ। शपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरूले पनि पदको शपथ लिएका छन्। जसअन्तर्गत डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय, सुधन गुरुङले गृह मन्त्रालय, र शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अन्य मन्त्रीहरूमा सुनिल लम्साल (भौतिक पूर्वाधार तथा सहरी विकास), विराजभक्त श्रेष्ठ (ऊर्जा, जलस्रोत तथा सिंचाइ), सोविता गौतम (कानुन), र निशा मेहता (स्वास्थ्य) रहेका छन्।

शपथ ग्रहण समारोहमा सांस्कृतिक विविधताको झलक समेत देखिएको थियो, जहाँ बटुकहरूले स्वस्तिवाचन र लामाहरूले मंगलवाचन गरेका थिए। पहिलो मन्त्रिपरिषद् बैठकले जनजीविकाका सवालमा केही ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज