काठमाडौं । आजदेखि संसदको दुबै सदनमा बजेट छलफल हुने भएको छ । गृहमन्त्रीको राजीनामाको माग राखेर सदन अवरुद्ध गर्दै आएको प्रतिपक्षीले बजेट पेश गर्न मात्रै दिएको र आफ्ना विरोधका कार्यक्रम यथावत रहेको प्रतिकृया दिइरहेको बेला संसद कसरी चल्छ भन्ने चासोको विषय बनेको छ । प्रतिपक्षले के गर्छ ? भन्ने चासो आजको बैठकमा छ ।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ ।
प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि छलफल सुरु गर्ने तयारी छ । सोही अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । र, उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री पौडेलले यही जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरेका थिए ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको आजको बैठकमा पनि अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै ‘प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।
रास्वपा लगायतका प्रतिपक्षी दलले भने गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिन हुनुपर्ने उनीहरुको माग छ । आज पनि विरोध गर्ने उनीहरुको तयारी छ ।