काठमाडौं । निषेधित क्षेत्र मानिएको सिंहदरबार र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राप्रपाका शीर्ष नेताहरूलाई प्रहरीले केही घण्टापछि रिहा गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही, र युवा मोर्चा अध्यक्ष कैलाश कटुवाललाई आइतबार दिउँसो सिंहदरबार परिसरबाट पक्राउ गरिएको थियो। साथै, बानेश्वर क्षेत्रबाट समेत तीनजना राप्रपा कार्यकर्ता पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ परेका सातै जनालाई साँझसम्ममा रिहा गरिएको हो। प्रहरीका अनुसार निषेधित क्षेत्रमा जुलुससहितको प्रदर्शन गरेपछि उनीहरूलाई सुरक्षा व्यवस्थाका कारण नियन्त्रणमा लिइएको थियो।
राप्रपाले पछिल्लो समय सत्ता र व्यवस्थाको विरोधमा सडक संघर्षलाई तीव्र बनाइरहेको छ। यस्तै अभियान अन्तर्गत आइतबारको प्रदर्शनको आयोजना गरिएको बताइएको छ।