सताइस वर्षअघि पुणेमा एलएलएम (LLM) पढ्न जाँदा भरत राज उप्रेती व्यावसायिक कानून प्राध्यापन र कानून व्यवसाय गर्ने चर्चित व्यक्तित्व भनेर सुनिसकेको थिएँ। पुणे विश्वविद्यालय पुगेपछि थाहा भयो, उहाँ हाम्रो अग्रज हुनुहुँदो रहेछ; धेरै सिनियर अनि गर्व लाग्ने व्यक्तित्व। अनुप (अनुप उप्रेती), समीर शर्मा, अभिषेक अधिकारी त्यहीँ पढ्दै थिए। एलएलबी (LLB) अन्तिम वर्षतिर हो क्यारे, म भर्खर एलएलएम भर्ना भएको।
सन् २००१ मा पुणेबाट एलएलएम सकेर काठमाडौँ आएपछि भरत सरलाई भेट्न गएँ। पुणे विश्वविद्यालयको गफ गरियो। त्यो मेरो उहाँसँगको पहिलो भेट थियो। प्रभावशाली व्यक्तित्व, अनि मनमनै उहाँजस्तै वकिल हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। पुणेबाट फर्किनासाथ काठमाडौँ स्कूल अफ ल मा प्राध्यापन गर्न सुरु गरेको म, भरत सरलाई ‘ल फर्म’मा काम गर्छु भन्न सकिनँ। एकछिन गफ गरेर फर्केँ। त्यो व्यक्तित्वको प्रभाव अटुट छ ममाथि। झन् अनुप नजिकको साथी भएकोले भरत सरलाई बिर्सिने कुरै भएन। भरत सरको स्वर्गवास भएको केही समयपछि एक दिन अनुपले हामी केही साथीहरूलाई पायोनियर ल फर्ममा बोलाएर भरत सरको नाममा केही गर्ने विचार रहेको सुनाए। भरत सर कानूनको शिक्षा, कानून व्यवसाय र न्यायमूर्ति रूपमा सम्मान गर्ने व्यक्तित्व। हामीलाई खुसी लाग्यो अनुपको त्यो योजना सुनेर अनि अनुपलाई साथ-सहयोग गर्ने बाचा गर्यौँ। अनुप र अञ्जुजीले त्यो योजनालाई साकार पार्दै ‘भरत राज उप्रेती फाउन्डेसन’ (BRU Foundation) लाई आज एउटा विशाल फाउन्डेसनका रूपमा तयार गरेकोमा हार्दिक शुभकामना। यो फाउन्डेसनको सुरुको वर्षदेखि आजसम्म आउँदा यसले गरेका महत्वपूर्ण काममध्ये ‘मुटकोर्ट’ प्रतियोगिताले देशैभरिका कानूनका विद्यार्थीलाई समेटेको छ। फेरि पनि अनुप, अञ्जुजी र फाउन्डेसनका सम्पूर्ण सहयोगी साथीहरूलाई बधाई दिन चाहन्छु।
आज भरत श्रीमानको बेन्चमा भएको एउटा अविस्मरणीय घटनालाई सम्झिन मन लाग्यो। हुन त मैले यो क्षणको कुरा अघिल्लो साल लेखेको थिएँ, तर आज फाउन्डेसनले ७ वर्ष मनाइरहँदा र मेरा प्रिय दोस्तहरू अनुप र समीरसँग फोटो खिँचिरहँदा एकफेर फेरि इजलासभित्रको एउटा रमाइलो घटना सम्झिन मन लाग्यो।
नेपाल एयरलाइन्सको तर्फबाट सर्वोच्च अदालतमा एउटा मुद्दामा म बहस गर्दै थिएँ, माननीय न्यायाधीश भरत राज उप्रेतीज्यूको बेन्चमा। अर्को न्यायमूर्तिको नाम याद भएन। मुद्दामा मलाई तोकिएको बहसको विषय ‘कम्पनीको घुम्टो उघार्ने’ (Lifting the Corporate Veil) सम्बन्धमा थियो। समीर लगाएत अन्य केही विद्वान् अधिवक्ताज्यूहरू विपक्षमा हुनुहुन्थ्यो। मैले माथि नै भनिसकेँ, भरत राज उप्रेती नेपालको कम्पनी कानूनको एउटा विधिशास्त्र नै हुनुहुन्थ्यो। उहाँको कम्पनी कानूनको किताबको परिष्कृत अङ्क अघिल्लो साल अनुपले मलाई उपहारस्वरूप दिएको थियो। त्यतिबेला मैले उसलाई नि यो प्रसङ्ग सुनाएको थिएँ। मलाई सजिलो भयो कम्पनी कानूनको व्याख्या, त्यो पनि भरत राज उप्रेती श्रीमानको बेन्चमा। मैले पहिले सालोमोन बि. सालोमोन (१८९७) को कम्पनीको फरक व्यक्तित्वदेखि घुम्टो उघार्ने सिद्धान्तलाई ली बि. ली एयर फर्मिङ, डेम्लर बि. कन्टिनेन्टल टायर, दिल्ली विकास निगमको मुद्दा, डीन सस मनेजी पेटिटको मुद्दा, गिलफोर्ड मोटर बि. होर्नको मुद्दाको सन्दर्भ जोड्दै श्रीमानको कम्पनी ल लाई रिफ्रेन्समा लिएँ अनि सोचेँ, आज श्रीमानले नै आफ्नो किताबमा व्याख्या गर्नुभएको सिद्धान्त र नजिर पढेर सुनाउँछु। अनि सुरु गरेँ…

“श्रीमान्, यो कम्पनी कानूनको किताब नेपालका एक प्रख्यात प्राज्ञिक व्यक्ति, जसलाई हामी कम्पनी कानूनको ‘अथोरिटी’का रूपमा मान्छौँ र व्यावसायिक कानूनका महान् ज्ञाता अनि कानून व्यवसायी भरत राज उप्रेतीजीले लेख्नुभएको पुस्तक हो।” यस पुस्तकमा उहाँले कम्पनीको घुम्टो उघार्ने विषयमा यसो लेख्नुहुन्छ भन्दै करिब १० लाइन नरोकी पढेर सुनाएँ। अनि आफ्नो तर्क राख्दै भनेँ, “श्रीमान्, यो पुस्तकका लेखक तपाईँ आफैँ हुनुहुन्छ, त्यसैले मैले यहाँभन्दा बढी व्याख्या गरिरहन परेन। यो पुस्तकका यी हरफले नै हाम्रो दाबीअनुसार ठहर हुने कुरा स्थापित गर्दछ।” अझ अगाडि गएर भनेँ, “श्रीमान्, म ल क्याम्पसमा श्रीमानबाटै शिक्षित भएको हुँ। अनि श्रीमानले जहाँबाट कानूनमा स्नातकोत्तर गर्नुभएको हो (पुना युनिभर्सिटी), मैले नि त्यही विश्वविद्यालयबाट दीक्षित भएकोले हाम्रो बुझाइमा फरक नपर्ला।” मैले यति भनिसकेपछि म के कुरामा ढुक्क थिएँ भने, न्यायमूर्ति आफैँले लेखेका कुराभन्दा बाहिर जान सक्नुहुन्न। मैले मेरो कुरा आफू कन्फिडेन्ट, निडर अनि थोरै रसिक र व्यङ्ग्य गर्दै व्यक्त गरेँ।
श्रीमानले मेरो पूरै बहस सुन्नुभयो, पूरा समय दिएर। अनि मेरो तर्क सकिएपछि मतिर हेरेर मुसुक्क हाँस्नुभयो र भन्नुभयो, “सरोज… पढाउने र किताब लेख्ने अनि न्याय दिने कुरा फरक-फरक कुरा हुन्।” लाग्यो, आजको दिन खराब हुने भो!
साँझमा थाहा भयो, मुद्दा जितियो…

