काठमाडौँ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतमा थुनछेक बहस भइरहेका बेला अदालत परिसर बाहिर एक पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–३ की ५५ वर्षीया फूलकुमारी रजकले मिटरब्याजी अभियुक्तहरूलाई कडा कानुनी कारबाहीको माग गर्दै अदालतको मुख्य गेट अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।
अनुचित लेनदेन मुद्दाका आरोपीहरू हरेराम साह र गोपाल साहको मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम अदालतमा थुनछेक बहस चलिरहँदा पीडितहरू बाहिर प्रदर्शनमा उत्रिएका थिए। सोही क्रममा पीडित महिला रजकले शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा ड्युटीमा खटिएका प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल नियन्त्रणमा लिई उद्धार गरेको हो । मिटरब्याजपीडितको प्रदर्शन र आत्मदाह प्रयासको घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

