सक्कली बिल लिनेलाई सरकारले लखपति बनाउने !

काठमाडौँ । सरकारले कर प्रणालीमा नागरिकको सहभागिता बढाउन र बिल लिने बानीको विकास गर्न नयाँ आकर्षक प्रोत्साहन योजना ल्याएको छ। यस योजनाअनुसार अब मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा भुक्तानी गरी सक्कली बिल लिने नागरिकहरूले हरेक दिन लखपति बन्ने अवसर पाउनेछन्। अर्थमन्त्रीका सल्लाहकार नविन ढुंगानाले फेसबुकमा यो सम्बन्धि पोष्ट राख्दै यस्तो जानकारी दिएका हुन ।

आफ्नो दैनिक उपभोग्य वस्तु खरिद गर्दा वा होटेल तथा रेस्टुरेन्टमा सेवा लिँदा एक सय रुपैयाँभन्दा बढीको सक्कली बिल लिएमा उक्त बिल नम्बर नै उपभोक्ताका लागि भाग्यशाली नम्बर बन्नेछ। यस योजनालाई अझ प्रभावकारी बनाउन हाललाई हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा विजेताहरूको घोषणा गरिनेछ।

दैनिक एक जनालाई लखपति बनाइने यस योजनाअन्तर्गत हरेक महिना दुई जना भाग्यशाली विजेतालाई बम्पर उपहारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गरिनेछ। सरकारले करको दायरा विस्तार गर्न र वित्तीय पारदर्शीता कायम गर्न ल्याएको यो योजनाले नागरिकहरूमा औपचारिक प्रणालीबाट कारोबार गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ। यस योजनासम्बन्धी थप विस्तृत जानकारी र सर्तहरूबारे बुझ्न सम्बन्धित कार्यविधि अध्ययन गर्न सकिनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज