प्रधानन्यायाधीशको विवादित टिप्पणीपछि भारतीय युवा सामाजिक सञ्जालमा, ‘कक्रोच जनता पार्टी’ को उदय

काठमाण्डौं । भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एक सुनुवाइका क्रममा युवाहरूलाई लक्षित गर्दै गरेको ‘कक्रोच’ सम्बन्धी विवादास्पद टिप्पणीले देशमा तीव्र राजनीतिक तथा व्यङ्ग्यात्मक आन्दोलन निम्त्याएको छ। प्रणालीमाथि ‘परजीवी’ हरूले आक्रमण गरेको दाबी गर्दै उनले रोजगारी नपाउने युवाहरूलाई तिलचट्टेसँग तुलना गरेपछि भारतभरका जेन जी (Gen Z) पुस्तामा ठूलो आक्रोश फैलिएको छ। प्रधानन्यायाधीशले उक्त भनाइ नक्कली डिग्रीधारीहरूका लागि भएको भन्दै पछि स्पष्टीकरण दिए पनि त्यसले युवा वर्गमा थुप्रिएको बेरोजगारी, महँगी र धार्मिक विभाजनको निराशालाई झनै मलजल गरेको छ।

गत शुक्रबार भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले एक खुल्ला सुनुवाइका क्रममा प्रणालीमाथि “परजीवीहरूले” आक्रमण गरिरहेको बताउँदै युवाहरूलाई “रोजगारी नपाउने र कुनै पेसामा स्थान नभएका कक्रोच (तिलचट्टे)” भनी टिप्पणी गरेका थिए।

उनले भनेका थिए, “केही युवाहरू कक्रोच जस्तै छन्, जसले रोजगारी पाउँदैनन् वा उनीहरूको कुनै पेसामा स्थान छैन। उनीहरूमध्ये कोही मिडियाकर्मी, कोही सामाजिक सञ्जाल प्रयोगकर्ता, कोही आरटीआई (सूचनाको हक) कार्यकर्ता बन्छन् र सबैलाई आक्रमण गर्न थाल्छन्।”

यसै आक्रोशलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै बोस्टन विश्वविद्यालयका स्नातक ३० वर्षीय अभिजीत दिपकेले ‘कक्रोच जनता पार्टी’ नामक अनलाइन अभियान सुरु गरेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) को नामसँग मिल्दोजुल्दो गरी सुरु गरिएको यो अभियानले अहिले हजारौं युवाहरूलाई एकताबद्ध गरिरहेको छ। सामाजिक सञ्जालमा ‘के हुन्छ यदि सबै कक्रोचहरू एकै ठाउँमा भेला भए भने?’ भन्दै सुरु भएको यो आन्दोलनले सत्ता र युवाबीचको बढ्दो खाडललाई प्रस्ट पारेको छ।

सत्तामा रहेकाहरूले नागरिकलाई परजीवी ठान्ने प्रवृत्तिप्रति प्रहार गर्दै दिपकेले सडेको व्यवस्थामा कक्रोचहरू हुर्कने भन्दै भारतको वर्तमान सामाजिक अवस्थामाथि कडा कटाक्ष गरेका छन्। प्रधानन्यायाधीशको उक्त टिप्पणीपछि सुरु भएको यो डिजिटल आन्दोलनले भारतमा युवा असन्तुष्टिको नयाँ र शक्तिशाली स्वरूपलाई सतहमा ल्याइदिएको छ।

  • एजेन्सिको सहयोगमा

सम्बन्धित समाचार

ताजा न्यूज