काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने आफ्नो यसअघिको निर्णय हालका लागि स्थगित गरेको छ। काउन्सिलको उक्त कदमको चौतर्फी र चर्को विरोध भएपछि वैशाख २९ गते बसेको पूर्ण बैठकले निर्णय फिर्ता लिँदै ती चिकित्सकहरूको नाम दर्ता किताबमै यथावत राख्ने निर्णय गरेको हो।
यसअघि काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ को हवाला दिँदै नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका १९ जनासहित कुल ३६ जना चिकित्सकको नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार विरोधपछि निर्णय तत्कालका लागि स्थगित गरिएको र अब संसारभर रहेका गैरआवासीय नेपाली चिकित्सकहरूलाई दर्ताका लागि औपचारिक आह्वान गरिनेछ। विदेशमा रहेका दक्ष नेपाली चिकित्सकहरूलाई स्वदेशको स्वास्थ्य क्षेत्रसँग जोड्नुपर्नेमा उल्टै लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएपछि काउन्सिलको चौतर्फी आलोचना भएको थियो। पूर्ण बैठकको यो नयाँ निर्णयसँगै हाललाई गैरआवासीय चिकित्सकहरूको कानूनी संकट टरेको छ भने काउन्सिलले विश्वभर छरिएका नेपाली चिकित्सकहरूलाई समेट्न नयाँ प्रक्रिया सुरु गर्ने बाटो रोजेको छ।

