काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराइले जानकारी दिए।
यो मुद्दामा आज पीडितका तर्फबाट २ जना सरकारी वकिल र निजीबाट २ वकिलले बहस गरेका थिए । हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा बुधबार फेरि बहस हुने छ ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । अदालतले उनलाई थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा दिएको थियो ।
पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।