काठमाडौं । साथी पनि बैक पनि नारा दिँदै विज्ञापन गरिरहेको एन आई सी एशिया बैंक शाखा सञ्चालनका लागि बहालमा लिएको घर भाडा तिर्न नसक्ने अवस्था पुगेको छ । अर्थतन्त्रमा आएको मन्दिले प्रभाव परेको भन्दै बैकका शाखा कार्यालय सञ्चालनका लागि भाडामा लिएका घरका धनीलाई घरबहाल छुट माग्दै बैंकका कर्मचारीले पत्र काट्न थालेका छन् ।
काठमाडौंको काँडाघारीमा रहेको एन आई सी एशिया बैंकको शाखा कार्यालयले घरधनी ओम प्रकाश साहुलाई घरभाडामा २५ प्रतिशत छुट माग्दै धम्कीपूर्ण पत्र लेखेको छ । बैंकको लेटर हेड प्रयोग गरि २०८० वैशाख २६ गते घर भाडा छुट गराई पाउँ भन्ने सम्बन्धमा भन्ने व्यहोराको पत्र ह्वाट्स एप मार्फत पठाइएको थियो। पत्र पठाइसकेपछि उनलाई बैकका कर्मचारीले घरधनी साहुलाई फोन समेत गरेका थिए ।
पत्रमा बहाल रकममा छुट दिने शर्तमा तहाँको असमर्थता भएमा र यस पत्रको मितिबाट ७ दिनभित्र माथि अनुरोध गरिए बमोजिम तहाँबाट लिखित पत्र मार्फत बैंकलाई जानकारी प्राप्त नभएको अवस्थामा बैंकले अन्य विकल्प खोज्न सक्ने सूचना समेत यसै पत्र मार्फत तहाँलाई जानकारी गराउँछौ भनी उल्लेख गरिएको छ ।
घरधनी साहुको घरमा बैकले प्रति फ्ल्याट ४० हजार रुपैयाँ भाडा तिर्नेगरी २ वटा फ्ल्याट भाडामा लिएर २०७५ साल देखि एन आई सी एशिया बैंकको शाखा कार्यालय सञ्चालन गर्दै आइरहेको छ । मैले भाडा छुट दिन सकिन्न बरु २/४ वर्ष भाडा बढाउँदिन भन्ने जवाफ दिएँ, घरधनी साहुले भने, उहाँहरूले धम्कीपूर्ण भाषा प्रयोग गरि दिन भित्र जवाफ दिनु भनी पत्र पठाउनु भएको छ । उहाँहरूलाई मन छैन भने मेरो घरमा नवस्दा हुन्छ ।
यस विषयमा बुझ्न कानुन खबर डट कमले एन आई सी एशिया बैकका प्रमुख सूचना अधिकृत अर्जुन राज खनियासँग पटक पटक फोन तथा एसएमएस गरेर सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
हेर्नुस् यस्तो छ एनआईसी एसियाले घरधनीलाई लेखेको पत्रः
उपरोक्त सम्बन्धमा तहाँ र यस बैंक बिच मिति २०७५ साल मंसिर १४ गतेका दिन सम्पन्न भएको घरबहाल सम्झौता बमोजिम यस बैंकले तहाँको घरमा शाखा सञ्चालन गर्दै आइरहेकोमा हाल देशको अर्थतन्त्रमा समस्या आएसँगै सबै व्यवसायमा नकारात्मक असर पर्दै गर्दा यस बैंक समेत यसबाट अछुत रहन नसकेको कुरा तहाँ समक्ष जानकारी गराउँछौ ।
तसर्थ यस बैंकको खर्च कटौती गर्ने निर्णय र यस बैंक तथा तहाँ बिचको प्रगाढ सम्बन्धलाई मध्य नजर गर्दै हाल कायम रहेको बहाल रकममा २५ प्रतिशत छुट गरी नयाँ घरबहाल सम्झौता गरिदिनु हुन सादर अनुरोध गर्दछौँ । साथै माथि उल्लेखित बहाल रकममा छुट दिने शर्तमा तहाँको असमर्थता भएमा र यस पत्रको मितिबाट ७ दिनभित्र माथि अनुरोध गरिए बमोजिम तहाँबाट लिखित पत्र मार्फत बैंकलाई जानकारी प्राप्त नभएको अवस्थामा बैंकले अन्य विकल्प खोज्न सक्ने सूचना समेत यसै पत्र मार्फत तहाँलाई जानकारी गराउँछौ ।