पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले उनलाई बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जनआस्था डटकममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य अमरकान्त चौधरी र एक महिलाको निजी तस्बिरसहित सम्प्रेषित समाचारलाई लिएर ती महिलाले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो। अनुसन्धान अधिकारी प्रहरी निरीक्षक लोकृष्ण दाहालद्वारा हस्ताक्षरित थुनुवापुर्जी थमाउँदै प्रहरीले श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार समाचारमा प्रकाशित तस्बिरका कारण वैयक्तिक गोपनीयता हनन भएको भन्दै परेको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिई उनलाई नियन्त्रणमा लिइएको हो।

श्रेष्ठ पक्राउ परेकै दिन प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले पनि जनआस्था डटकम र त्यसको सामाजिक सञ्जाल पेजविरुद्ध प्रेस काउन्सिल नेपालमा लिखित उजुरी दर्ता गराएकी छन्। जनआस्थाले आफ्नो तस्बिर राखेर आपत्तिजनक र धम्कीपूर्ण सामग्री प्रकाशित गरी सार्वजनिक प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै उनले छानबिन र कारबाहीको माग गर्दै काउन्सिल नेपालमा लिखित उजुरी दर्ता गराएकी हुन्।

सञ्चारमाध्यममा प्रकाशित सामग्रीउपर नियमन र कारबाही गर्ने मुख्य जिम्मेवारी नेपाल प्रेस काउन्सिलको भए पनि प्रहरीले सीधै पक्राउ गरेपछि क्षेत्राधिकारको विषयलाई लिएर नयाँ बहस सिर्जना भएको छ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र कोषाध्यक्ष रामकृष्ण अधिकारीले यस पक्राउलाई सत्ताको प्रतिशोध र सञ्चारजगत्‌लाई तर्साउने कदमका रूपमा टिप्पणी गर्दै विरोध जनाएका छन्। अर्कातर्फ, प्रेस स्वतन्त्रताको आडमा नागरिकको वैयक्तिक गोपनीयता र व्यक्तिगत जीवनमाथि आघात पुर्‍याउन नमिल्ने र पत्रकार पनि कानुनभन्दा माथि हुन नसक्ने तर्क कानुनी वृत्तबाट अघि सारिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज