के न्यायाधीश मेलमिलापकर्ता बन्न सक्छन् ? नेपालको न्याय प्रणालीमा नयाँ बहस

नेपालमा मेलमिलापलाई विवाद समाधानको वैकल्पिक माध्यमका रूपमा कानूनी मान्यता दिइएको लामो समय भइसकेको छ। वि.सं. २०६० देखि जिल्ला अदालतको नियमावलीमा समावेश भएको मेलमिलाप प्रक्रिया अहिले सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म अभ्यासमा छ। नेपालको संविधानले न्याय तथा दण्ड व्यवस्थासम्बन्धी राज्यका नीतिअन्तर्गत सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप र मध्यस्थताजस्ता वैकल्पिक उपाय अवलम्बन गर्ने व्यवस्था गरेको छ। यसबाट मेलमिलाप न्याय प्रणालीको विकल्प मात्र नभई न्याय सम्पादनकै एउटा महत्त्वपूर्ण अङ्गका रूपमा स्थापित भएको स्पष्ट हुन्छ।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का विभिन्न व्यवस्थाले विवादका पक्षहरूलाई मिलापत्र तथा मेलमिलापको अवसर प्रदान गरेका छन्। त्यस्तै, मेलमिलापसम्बन्धी ऐन, २०६८, नियमावली, २०७० र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले मेलमिलापको संस्थागत विकास र विस्तारका लागि कानूनी आधार तयार गरेका छन्। तथापि, कानूनी व्यवस्था र नीतिगत प्रतिबद्धताअनुसार मेलमिलापको अभ्यास अपेक्षित रूपमा प्रभावकारी हुन सकेको छैन।
तथ्याङ्कले देखाएको कमजोर अभ्यास
न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) ले अदालतमा दायर हुने मेलमिलापयोग्य मुद्दामध्ये ५० प्रतिशतलाई मेलमिलाप प्रक्रियामा पठाउने र त्यसरी पठाइएका मुद्दामध्ये ५० प्रतिशतमा मेलमिलापमार्फत विवाद समाधान गर्ने लक्ष्य लिएको छ। यो लक्ष्यले न्यायपालिकाले मेलमिलापलाई दिएको प्राथमिकता स्पष्ट गर्छ। तर उपलब्ध तथ्याङ्कले लक्ष्य प्राप्तिको यात्रा अझै चुनौतीपूर्ण रहेको देखाउँछ।
सर्वोच्च अदालतका वार्षिक प्रतिवेदनमा उल्लेखित विगत १० वर्षको तथ्याङ्कअनुसार, अदालतमा दायर भएका मेलमिलापयोग्य मुद्दामध्ये औसत १७.८७ प्रतिशत मुद्दा मात्र मेलमिलाप प्रक्रियामा पठाइएको देखिन्छ। त्यसरी पठाइएका मुद्दामध्ये पनि औसत १८.९७ प्रतिशत मात्र मेलमिलापबाट सफलतापूर्वक टुङ्गिएका छन्। अदालतगत रूपमा हेर्दा जिल्ला अदालतमा मेलमिलापको अभ्यास तुलनात्मक रूपमा बढी भए पनि मेलमिलापका लागि पठाइएका मुद्दामध्ये १९.६१ प्रतिशत मात्र सफल भएका छन्। उच्च अदालतमा यो दर १५.६० प्रतिशत र सर्वोच्च अदालतमा १६.६२ प्रतिशत छ। अझ सर्वोच्च अदालतमा दायर भएका मेलमिलापयोग्य मुद्दामध्ये १.१५ प्रतिशत मात्र मेलमिलाप प्रक्रियामा पठाइनुले विद्यमान अभ्यासको सीमितता उजागर गर्छ।
यी तथ्याङ्कले एउटा गम्भीर प्रश्न खडा गर्छन् – मेलमिलापलाई कानूनले मान्यता दिएको छ, न्यायपालिकाले रणनीतिक प्राथमिकतामा राखेको छ, तर व्यवहारमा अपेक्षित परिणाम किन हासिल हुन सकेको छैन?
यसको उत्तर केवल मेलमिलापकर्ताको दक्षता वा पक्षहरूको अनिच्छामा खोजेर पुग्दैन। मुद्दा दर्ता भएदेखि नै मेलमिलापयोग्य विवादको पहिचान, न्यायाधीश तथा अदालतका कर्मचारीको सक्रियता, दक्ष मेलमिलापकर्ताको उपलब्धता, कानूनी परामर्श र प्रक्रियाप्रतिको पक्षहरूको विश्वासजस्ता पक्षलाई एकसाथ सम्बोधन गर्न आवश्यक छ। विशेषगरी, मेलमिलापलाई अदालतको नियमित प्रक्रियाबाट अलग राखिएको अतिरिक्त जिम्मेवारीका रूपमा नभई न्याय सम्पादनको अभिन्न विधिका रूपमा आत्मसात् गर्नुपर्ने देखिन्छ।
कानूनी सुधारसँगै नयाँ बहस
मेलमिलापको प्रभावकारिता अभिवृद्धि गर्दै विद्यमान कानूनी व्यवस्थालाई समयसापेक्ष, सङ्घीय संरचनाअनुकूल र व्यवहारमैत्री बनाउन सरकारले मेलमिलापसम्बन्धी ऐन, २०६८ (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ। यस विधेयकले मेलमिलापको पहुँच विस्तार, संस्थागत समन्वय, प्रक्रियागत सहजता र न्यायिक प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्य राखेको देखिन्छ।
प्रस्तावित विधेयकका महत्त्वपूर्ण व्यवस्थामा प्रदेश तथा जिल्ला मेलमिलाप समन्वय समिति गठन, वाणिज्य क्षेत्रमा मेलमिलाप प्रवर्द्धन समिति स्थापना, स्थानीय तहमा विवाद पठाउन सकिने व्यवस्था, भिडियो कन्फरेन्समार्फत मेलमिलाप सञ्चालन, मेलमिलापबाट भएको सहमति कार्यान्वयनको व्यवस्था, स्थानीय तहमा मेलमिलापकर्ताको शैक्षिक योग्यता तथा न्यायाधीशलाई समेत मेलमिलापकर्ताको जिम्मेवारी दिन सकिने प्रस्ताव रहेका छन्।
यी व्यवस्थामध्ये सबैभन्दा बढी बहस र चासोको विषय बनेको छ न्यायाधीशलाई नै मेलमिलापकर्ताको भूमिका दिने प्रस्ताव। के न्यायाधीशले फैसला सुनाउने जिम्मेवारीसँगै विवादका पक्षहरूलाई सहमतिमा पुर्‍याउने भूमिका पनि निर्वाह गर्न सक्छन्? के यसले न्यायिक निष्पक्षता र स्वतन्त्रतामा असर पार्छ वा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउँछ? अहिलेको बहसको केन्द्रमा यिनै प्रश्न छन्।
प्रस्तावित व्यवस्थाअनुसार पाँच जना वा सोभन्दा बढी न्यायाधीश कार्यरत रहेका जिल्ला अदालतमा प्रधान न्यायाधीशले तोकेको न्यायाधीशले आधारभूत मेलमिलाप तालिम प्राप्त गरेपछि सोही अदालतमा दायर भएका मेलमिलापयोग्य मुद्दामा मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न सक्नेछ। यस्तो जिम्मेवारी निर्वाह गरेबापत न्यायाधीशले कुनै पनि पक्षबाट पारिश्रमिक वा अन्य सुविधा लिन नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
न्यायाधीशको सहभागिता : चुनौतीभन्दा बढी सम्भावना
न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिनुपर्ने पक्षमा सबैभन्दा बलियो तर्क भनेको न्यायिक संस्थाप्रतिको जनविश्वास हो। अदालतप्रति नागरिकको भरोसा, न्यायाधीशको कानूनी ज्ञान, अनुभव, निष्पक्षता र संस्थागत प्रतिष्ठाले विवादका पक्षहरूलाई संवाद र सहमतिका लागि सकारात्मक वातावरण सिर्जना गर्न सक्छ। न्यायाधीशको उपस्थितिले मेलमिलाप प्रक्रियाको गम्भीरता र विश्वसनीयता बढाउन सक्छ।
न्यायाधीशको काम मुद्दाको अन्तिम फैसला सुनाउनु मात्र हो भन्ने परम्परागत बुझाइलाई समयअनुसार फराकिलो बनाउनु आवश्यक छ। न्यायको उद्देश्य विवादको कानूनी टुङ्गो लगाउनु मात्र होइन, विवादका कारण बिग्रिएको सम्बन्ध सुधार्नु, आपसी अविश्वास घटाउनु र दुवै पक्षले स्वीकार गर्न सक्ने समाधान खोज्नु पनि हो। अदालतको ढोकासम्म आइपुगेका विवादहरू सबैको समाधान फैसला नै हुनुपर्छ भन्ने छैन। कतिपय अवस्थामा एउटा निष्पक्ष संवाद, उचित सहजीकरण र आपसी समझदारीले वर्षौँसम्म चल्ने मुद्दाभन्दा बढी प्रभावकारी परिणाम दिन सक्छ।
कानूनमन्त्री सोविता गौतमले पनि न्यायाधीशको रोहबरमा हुने मेलमिलापले प्रक्रियाप्रतिको सामाजिक तथा संस्थागत विश्वास बलियो बनाउन सक्ने तर्क प्रस्तुत गरेकी छन्। वास्तवमा, न्यायाधीशको सहभागितालाई न्यायिक अधिकारको विस्तारभन्दा पनि विवाद समाधानका वैकल्पिक विधिलाई न्याय प्रणालीभित्रै सुदृढ बनाउने अवसरका रूपमा हेर्न सकिन्छ।
तर यो प्रस्ताव विवादरहित भने छैन। नेपाल बार एसोसिएसनलगायतका सरोकारवालाले न्यायाधीशको संवैधानिक भूमिका, न्यायिक स्वतन्त्रता, निष्पक्षता र मेलमिलापको गोपनीयतासम्बन्धी प्रश्न उठाएका छन्। नेपालको संविधानको धारा १५० मा जिल्ला न्यायाधीशलाई अन्य काममा लगाउने विषयमा रहेको संवैधानिक व्यवस्थाको सन्दर्भमा न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्ने वा नमिल्ने भन्ने प्रश्न पनि उठेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशको मूल जिम्मेवारी निष्पक्ष न्याय सम्पादन भएकाले उनीहरूलाई मेलमिलापकर्ताको भूमिका दिन नमिल्ने धारणा राखेका छन्।
यी प्रश्न र सरोकारलाई बेवास्ता गर्न मिल्दैन। तर कुनै प्रस्तावसँग असहमति वा चुनौती हुनु मात्र त्यसलाई अस्वीकार गर्ने पर्याप्त आधार बन्न सक्दैन। बरु उठेका संवैधानिक र व्यावहारिक प्रश्नको स्पष्ट कानूनी सम्बोधन गर्दै उपयुक्त कार्यविधि र सुरक्षा उपायसहित अघि बढ्नु आवश्यक हुन्छ।
मेलमिलापकर्ता र न्यायाधीशको भूमिकाबीच स्पष्ट सीमा
मेलमिलापसम्बन्धी ऐन, २०६८ को दफा १९ ले एउटै विवादमा मेलमिलापकर्ता र न्यायाधीशको भूमिका एउटै व्यक्तिले निर्वाह गर्न नपाउने सिद्धान्त स्थापित गरेको छ। त्यस्तै, दफा ३७ र ३८ ले मेलमिलाप प्रक्रियाको गोपनीयता कायम गर्ने तथा त्यस क्रममा व्यक्त गरिएका विचार र अभिव्यक्तिलाई प्रमाणका रूपमा प्रयोग गर्न नपाइने व्यवस्था गरेका छन्। दफा ४१ ले मेलमिलापकर्ताको भूमिका न्यायाधीश, मध्यस्थकर्ता वा कानूनी सल्लाहकारको नभई सहजकर्ताको हुने स्पष्ट पारेको छ।
प्रस्तावित संशोधन विधेयकले पनि मेलमिलापकर्ताको रूपमा काम गरेको न्यायाधीशले सोही मुद्दामा मेलमिलाप वा मिलापत्र हुन नसकेमा त्यसको सुनुवाइ, कारबाही र किनारामा संलग्न हुन नपाउने व्यवस्था प्रस्ताव गरेको छ। यसले मेलमिलापमा संलग्न न्यायाधीश र त्यसपछि न्यायिक निर्णय गर्ने न्यायाधीशको भूमिकाबीच आवश्यक पृथकीकरण कायम गर्ने प्रयास गरेको देखिन्छ।
वास्तवमा, न्यायाधीशले मेलमिलापकर्ताको भूमिका निर्वाह गर्दा आफ्नो न्यायिक अधिकार प्रयोग गर्ने होइन, पक्षहरूलाई आफ्नै समाधान खोज्न सहजीकरण गर्ने हो। मेलमिलापको मूल मर्म नै स्वेच्छिक सहभागिता, समान अवसर, निष्पक्षता र पक्षहरूको निर्णय स्वायत्तता हो। न्यायाधीशको उपस्थिति कुनै पक्षलाई सम्झौताका लागि दबाब दिने माध्यम बन्नु हुँदैन। बरु पक्षहरूलाई आफ्ना कुरा स्वतन्त्र रूपमा राख्ने, एकअर्काको दृष्टिकोण बुझ्ने र स्वीकार्य विकल्प खोज्ने वातावरण उपलब्ध गराउनु यसको उद्देश्य हुनुपर्छ।
मेलमिलाप सफल भए सहमतिलाई कानूनी प्रक्रियाअनुसार कार्यान्वयन गर्ने र असफल भए मुद्दालाई नियमित न्यायिक प्रक्रियामा अघि बढाउने व्यवस्था सुनिश्चित गर्नुपर्छ। यसरी स्पष्ट सीमा र प्रक्रियागत सुरक्षा कायम गर्न सकिएमा न्यायाधीशको सहभागिताले मेलमिलापको विश्वसनीयता घटाउने होइन, बढाउने सम्भावना बढी हुन्छ।
अन्तर्राष्ट्रिय अभ्यासले देखाएको बाटो
न्यायाधीशको सहभागितामा मेलमिलाप सञ्चालन गर्ने अभ्यास नेपालका लागि नयाँ अवधारणा होइन। विश्वका विभिन्न मुलुकले आफ्नो न्याय प्रणालीको संरचना र आवश्यकताअनुसार न्यायाधीश सम्मिलित मेलमिलापलाई संस्थागत गरेका छन्।
जापानमा न्यायाधीशको नेतृत्वमा मेलमिलाप समिति गठन गरिन्छ, जसमा एक न्यायाधीश र दुई जना मेलमिलापकर्ता सहभागी हुन्छन्। दक्षिण कोरियामा न्यायाधीशसहित विषयगत विज्ञहरूको सहभागितामा विवाद समाधान गर्ने अभ्यास छ र सफल सहमतिले फैसलासरह कानूनी मान्यता पाउँछ। सिङ्गापुरमा न्यायाधीशहरूले पक्षहरूलाई सहमतिका सम्भावित विकल्प सुझाउने र संवाद सहजीकरण गर्ने भूमिका निर्वाह गर्छन्। फिलिपिन्समा अदालतप्रेषित मेलमिलाप सफल हुन नसकेमा न्यायाधीश वा पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक विवाद समाधान (Judicial Dispute Resolution–JDR) प्रक्रिया अपनाइन्छ।
यस सन्दर्भमा बङ्गलादेशको अभ्यास पनि नेपालको लागि विशेष अध्ययनयोग्य छ। त्यहाँ अदालतसम्बद्ध मेलमिलापमा न्यायाधीशको सक्रिय र प्रत्यक्ष संलग्नता रहेको छ। न्यायाधीशको भूमिका मुद्दालाई मेलमिलापमा पठाउने वा पक्षहरूलाई सहमतिका लागि प्रोत्साहित गर्नेमा मात्र सीमित छैन; कानूनी व्यवस्थाले अदालतलाई आवश्यक अवस्थामा आफैँ मेलमिलाप गराउने अधिकार र जिम्मेवारीसमेत प्रदान गरेको छ। यसले न्यायाधीशको न्यायिक अनुभव र कानूनी दक्षतालाई विवाद समाधानको प्रक्रियामा उपयोग गर्ने अवसर दिएको छ।
यी अन्तर्राष्ट्रिय अभ्यासले न्यायाधीश र मेलमिलापकर्ताको भूमिका सधैँ परस्पर विरोधी हुनुपर्छ भन्ने मान्यता सही होइन भन्ने देखाउँछन्। उपयुक्त कानूनी व्यवस्था, तालिम, संस्थागत संयन्त्र र भूमिकाको स्पष्ट सीमाङ्कन हुन सकेमा न्यायाधीशको सहभागिताले मेलमिलापलाई थप प्रभावकारी बनाउन सक्छ।
न्यायाधीशको सहभागिता किन आवश्यक?
नेपालको अदालतमा मुद्दाको चाप बढिरहेको, न्याय प्राप्तिका लागि लामो समय कुर्नुपर्ने र न्यायिक प्रक्रियामा लाग्ने समय तथा खर्चप्रति नागरिकको असन्तुष्टि बढिरहेको अवस्थामा मेलमिलापलाई प्रभावकारी बनाउनु समयको माग हो। यस्तो अवस्थामा न्यायाधीशको सक्रिय सहभागिताले अदालतमा दर्ता भएका मेलमिलापयोग्य मुद्दालाई प्रारम्भिक चरणमै पहिचान गरी उपयुक्त प्रक्रियामार्फत समाधान खोज्न मद्दत गर्न सक्छ।
न्यायाधीशको सहभागिता प्रभावकारी बनाउन केही आधारभूत पक्षमा विशेष ध्यान दिनुपर्छ। पहिलो, न्यायाधीशलाई मेलमिलापसम्बन्धी पर्याप्त सैद्धान्तिक तथा व्यावहारिक तालिम प्रदान गर्नुपर्छ। दोस्रो, मेलमिलापयोग्य मुद्दाको प्रारम्भिक पहिचान गरी अनावश्यक प्रक्रियागत ढिलाइबिना मेलमिलापमा पठाउने प्रणाली विकास गर्नुपर्छ। तेस्रो, मेलमिलापको गोपनीयता, स्वेच्छिकता र निष्पक्षता सुनिश्चित गर्न स्पष्ट कार्यविधि बनाउनुपर्छ। चौथो, न्यायाधीशको सहभागितालाई दक्ष तथा व्यावसायिक मेलमिलापकर्ताको भूमिकाको प्रतिस्थापनका रूपमा नभई एकअर्काका पूरकका रूपमा विकास गर्नुपर्छ। पाँचौँ, नेपाल बार एसोसिएसन, कानून व्यवसायी, अदालतका कर्मचारी र मेलमिलापसम्बन्धी संस्थाहरूबीच सहकार्य र समन्वय अभिवृद्धि गर्नुपर्छ।
विशेषगरी, मेलमिलापमा न्यायाधीशको सहभागिताले स्वतन्त्र र दक्ष मेलमिलापकर्ताको आवश्यकता समाप्त गर्दैन। बरु अदालतमा उपलब्ध विभिन्न विवाद समाधानका विकल्पलाई एकीकृत गर्दै पक्षहरूको आवश्यकताअनुसार उपयुक्त विधि छनोट गर्ने अवसर प्रदान गर्छ। न्यायाधीश, कानून व्यवसायी र मेलमिलापकर्ताबीच सहकार्य हुन सकेमा अदालतसम्बद्ध मेलमिलापको प्रभावकारिता अझ बढ्न सक्छ।
फैसला होइन, न्यायको अनुभूति महत्त्वपूर्ण
न्याय प्रणालीको सफलता कति मुद्दाको फैसला भयो भन्ने तथ्याङ्कले मात्र मापन हुँदैन। विवाद समाधानपछि पक्षहरूले कस्तो न्यायको अनुभूति गरे, उनीहरूको सम्बन्धमा कस्तो परिवर्तन आयो र सहमतिबाट प्राप्त समाधान कति दिगो बन्यो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
फैसलाबाट एउटा पक्षले कानूनी जित हासिल गर्न सक्छ, तर त्यसले सधैँ विवादको जरो समाप्त गर्छ भन्ने हुँदैन। कतिपय अवस्थामा फैसला कार्यान्वयन भए पनि पक्षहरूबीचको कटुता, अविश्वास र द्वन्द्व कायमै रहन सक्छ। मेलमिलापले भने पक्षहरूलाई आफ्ना समस्या आफैँ पहिचान गर्ने, समाधानका विकल्प खोज्ने र साझा सहमतिमा पुग्ने अवसर दिन्छ। त्यसैले यसको उपलब्धि मुद्दाको अन्त्यमा मात्र सीमित हुँदैन; सम्बन्ध सुधार, सामाजिक सद्भाव र दीर्घकालीन शान्तिमा समेत योगदान पुग्न सक्छ।
न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावलाई पनि यही व्यापक न्यायिक दृष्टिकोणबाट हेर्नुपर्छ। न्यायाधीशको सहभागिता न्यायिक स्वतन्त्रता र निष्पक्षताको मर्मविपरीत हुनु हुँदैन, तर ती सिद्धान्तको संरक्षण गर्दै मेलमिलापमा न्यायिक अनुभव र संस्थागत विश्वसनीयताको उपयोग गर्न सकिन्छ। यसका लागि आवश्यक संवैधानिक स्पष्टता, कानूनी सुरक्षा, तालिम र संस्थागत तयारी सुनिश्चित गर्नु अपरिहार्य छ।
अन्ततः, न्यायको उद्देश्य मुद्दाको फैसला गर्नु मात्र होइन, विवादको समाधान गर्नु र नागरिकलाई न्यायको वास्तविक अनुभूति दिलाउनु पनि हो। न्यायाधीशको भूमिका फैसला सुनाउने आसनमा मात्र सीमित नराखी आवश्यकताअनुसार संवाद, सहमति र सम्बन्ध सुधारको प्रक्रियामा समेत विस्तार गर्न सकिन्छ। न्यायाधीशको सक्रिय र प्रशिक्षित सहभागिता, कानून व्यवसायीको रचनात्मक सहयोग तथा दक्ष मेलमिलापकर्ताको व्यावसायिक संलग्नता एकसाथ अघि बढ्न सकेमा अदालतसम्बद्ध मेलमिलाप नेपालको न्याय प्रणालीको प्रभावकारी आधार बन्न सक्छ।
यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज