काठमाडौँ । भोटेकोशी प्रकोपपश्चात् सरकारको आह्वानमा स्थापित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हालसम्म १८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कोषमा जम्मा भएको कुल रकम १८ अर्ब ६२ करोड ८९ लाख १ हजार ७४२ रुपैयाँ पुगेको जानकारी गराइएको हो। सरकारले विभिन्न प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्स्थापनाका लागि उक्त कोषको स्थापना गरी सहयोगको अपिल गरेको थियो।
सोही पत्रकार सम्मेलनमा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रचलित कानुनबमोजिम विभिन्न सार्वजनिक निकायको सिफारिसमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको समेत अवगत गराएको छ। सार्वजनिक खरिद ऐन तथा नियमहरूको पालना नगर्ने र समयमा काम सम्पन्न नगर्ने फर्महरूलाई कालोसूचीमा राख्ने प्रक्रिया नियमित रूपमा अगाडि बढाइएको जनाइएको छ।
यसैबीच, निर्माण तथा परामर्श सेवा खरिदका सम्बन्धमा विभिन्न २३ वटा सार्वजनिक निकायलाई कानुनी राय तथा परामर्श उपलब्ध गराइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिनियर म्यानेजमेन्ट टिमको बैठकले संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक कार्यक्रम र बजेटमा नीतिगत तादात्म्य कायम गर्न आवश्यक फ्रेमवर्क समेत तयार पारेको छ।
सरकारले सार्वजनिक कोषको पारदर्शी परिचालन र कानुनी सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।

