काठमाडौं । झारफुक गरी निको पार्छु भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा प्रहरीले जुम्लाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुठिचौर गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन् ।
प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले मंसिर १२ गते दिउँसो अन्दाजी १२ बजे उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका रोकायालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ । उक्त भिडिओमा देखिएकी अन्दाजी १४ वर्षीया बालिकाको स्वास्थ्य अवस्था, भिडिओ कहिले र कुन अवस्थामा खिचियो तथा त्यसमा कस्तो व्यवहार गरिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बालबालिकाको शारीरिक, मानसिक वा स्वास्थ्यमा हानि पुग्ने कुनै पनि कार्यबाट संरक्षित हुन पाउने हक बालबालिका सम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको छ । त्यसैगरी, कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन नहुने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ मा छ । उक्त दफाबमोजिमको कसूर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिबाना हुन सक्ने कानूनी व्यवस्था छ । घटनामा कस्तो कसूर आकर्षित हुन्छ भन्ने कुरा प्रहरी अनुसन्धान र संकलित प्रमाणका आधारमा खुल्नेछ ।
प्रहरीले हाल घटनाको अनुसन्धान मात्र गरिरहेकाले पक्राउ परेका व्यक्तिमाथि कुन दफाअन्तर्गत कसूर दर्ता हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । अनुसन्धान पूरा भएपछि सरकारी वकीलको कार्यालयमार्फत मुद्दा चल्ने वा नचल्ने निर्णय हुनेछ ।

