मोहम्मद अफताब आलमको मुद्दामा भएको फैसलामा मैले जे देखे

मोहम्मद अफताब आलमको चर्चित मुद्दामा फैसला के भएको रहेछ भनी पढ्न मन लागेपछि सर्सर्ती पढेँ। मुद्दाको सबै कुरा बुझ्नका लागि सबै मिसिल अध्ययन गरेपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ। यद्यपि फैसलालाई बलियो बनाउन लिइएका आधारहरू पनि त्यही मिसिलबाट लिएर लेख्ने गरिन्छ। यही फैसलाका कारण दुई जना न्यायाधीशहरूको कारबाही हालसम्म पनि सकिएको छैन भनी समाचार माध्यमबाट प्रकाशित भएपछि मलाई पनि यो फैसला पढ्न मन लागेर पढ्न बसेको हुँ। पढ्दा जे देखेँ, पाठकहरूलाई पनि पूरै फैसला पढ्नुभन्दा पनि उक्त फैसला गर्दा लिइएका आधारहरू केके रहेछन् पढ्न सहज होस् भन्नका लागि यसरी प्रस्तुत गरेको छु। यो फैसला पाठकहरूले पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको वेबसाइटमा गएर मुद्दा नम्बर ०८०-CS-1162, ०८०-CS-1163, ०८०-CS-1164, ०८१-CS-270, ०८१-CS-271 बाट पनि खोजेर पढ्न सक्छन्।

मो. अफताब आलम समेतले विस्फोटक पदार्थसम्बन्धी कानूनको आधारमा सजाय गरी पाउन, घाइतेहरूलाई जिउँदै जलाई कर्तव्य गरी मारी लासहरू नष्ट गरेको भनी साबिक मुलुकी ऐन, २०२० को ज्यानसम्बन्धीको महलअनुसार प्रतिवादीहरूलाई सजाय गरी पाउन अभियोगपत्र दायर भएको रहेछ। मोहम्मद अफताब आलम समेतले बम विस्फोटनको घटना नै नघटेको तथा हत्या गरिएका भनिएका ओसी अख्तर मियाँ र पिन्टु भन्ने त्रिलोक प्रताप सिंहलाई जलाइएको छैन भनी कसूरमा इन्कार रही मौकामा र अदालतसमक्ष समेत मोहम्मद अफताब आलमले बयान गरेको र त्यसलाई पुष्टि गर्ने आधार सरकार पक्षबाट पेस गरेको देखिँदैन भनी फैसलामा उल्लेख गरिएको छ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेदवार समेतले प्रहरी कार्यालय रौतहटमा हुलाकद्वारा संयुक्त पहिलो जाहेरी दरखास्त दर्ता गराएको देखिन्छ। सो जाहेरीमा ने.का.का उम्मेदवार मो. अफताब आलमको घरमा बम विस्फोट भएको, सो घटनामा पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंह, ओसी अख्तर मियाँ लगायत दर्जनौँको मृत्यु भएको र निजको घर ध्वस्त भई भत्केको तथा त्यसमा मृत्यु भएका दर्जनौँ लासलाई घटनास्थल नजिकैको निजको आफन्तको इँटा पकाइरहेको चिम्नीमा सो लास लगी जलाई नष्ट गरेको भन्ने उजुरी व्यहोरा रहेको पाइन्छ भनिएकोमा उक्त जाहेरी दरखास्तवाला मध्येका केही व्यक्तिले अदालतमा सरकारी साक्षीको रूपमा उपस्थित भई बकपत्र गर्दा जाहेरी दरखास्तमा भएको सहीछाप र व्यहोरा आफ्नो नरहेको, वारदात भएको भनिएको मिति २०६४/१२/३० मा कुनै प्रकारको घटना/वारदात नभएको भनी एकै मिलानको बकपत्र गरेका रहेछन् भनी उल्लेख छ। जाहेरी दरखास्तवाला मध्येका सुरेन्द्रप्रसाद जयसवाल, अक्ताब आलम र सोहनप्रसाद गुप्ताले अदालतमा उपस्थित भई जाहेरी व्यहोरा समर्थन गर्नुभएको पनि देखिँदैन। यस्तो अवस्थामा जाहेरी व्यहोरा विश्वासनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन भनी सम्मानित अदालतको फैसलामा उल्लेखित छ।

तत्पश्चात् मिति २०६४/०१/१८ मा नारायण सिंह राजपुत र रोक्साना खातुनको अलग-अलग जाहेरी दरखास्त परेकोमा जाहेरवाला श्रीनारायण सिंह राजपुतले सुरु अदालतमा बकपत्र गर्दा सो मितिको घटना आँखाले नदेखेको भनी उल्लेख गरेको देखिन्छ। जाहेरी व्यहोरामा सुरक्षाबल समेतको सहयोग लिई इँटा पकाउने भट्टामा दाउरा हाल्ने प्वालमा हाली लास बेपत्ता पारिएको भनिए तापनि अभियोगपत्रमा सुरक्षाकर्मीलाई प्रतिवादी नै बनाइएको देखिँदैन भन्ने कुरा पनि फैसलाबाट देखिन्छ।

यसरी मृतकको लास इँटा भट्टाको आगोमा हाली लास बेपत्ता पारिएको अभियोग दाबी देखिन्छ। आगोमा लास पोल्दा लासको मांसपेशी लगायतका कुरा जली वाष्पीकरण भई लोप हुन सक्छ तर लासको हड्डी खरानी (अस्तु) (Human ashes) मा परिणत हुन्छ। खरानीको (Forensic test) बाट मानव शरीर जलाई खरानीमा परिणत भएको कुरा पत्ता लाग्न सक्छ भन्ने कुरा चिकित्सकीय विधिशास्त्रको स्थापित मान्यता पनि हुनाले खरानीको (Forensic test) गरी मानव शरीर जलाइएको हो भन्ने कुरा पुष्टि गर्ने प्रमाणको भार वादीमा नै रहन्छ। वारदात भएको दाबी गरिएको राजा इँटा भट्टामा मिति २०६५/०१/१५ मा खरानी मध्येबाट प्लास्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई परीक्षणका लागि पठाइएको देखिन्छ। सोको जाँच गर्ने Central Police Forensic Science Laboratory को Benzidine test गरी दिएको मिति २०६५/०२/१३ को प्रतिवेदनमा Blood could not be detected भन्ने राय आएको देखिन्छ भन्ने आधार पनि अदालतले फैसला गर्दा आधार लिएको पाइन्छ।

मुद्दा अनुसन्धान गर्नेले मिति २०६५/०१/१४ को जाहेरी दरखास्तमा उल्लेखित शेख इद्रिसको गोठघरको घटनास्थल मुचुल्का तयार गरेको देखिन्छ। उक्त मुचुल्कामा शेख इद्रिसको गोठघरको ६ वटा कोठा रहेको, सो घर पुरानो र नयाँ खपडाले छाएको अवस्थामा रहेको, घरको पूर्व-दक्षिण साइडको छानामुनि पुरानो माकुराको जालो लागेको रहेको देखिएको भन्ने व्यहोरा उल्लेख गरिएको पाइन्छ।

यसैगरी वारदात दाबीको राज इँटा उद्योग प्रा.लि. को मिति २०६५/०१/१५ मा तयार गरेको घटनास्थल मुचुल्कामा पन्ध्र दिन अगावै इँटा पकाएको खरानी रहेको, सो खरानी मध्येबाट प्लास्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई लगेको, सो इँटा भट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण खुलाएको देखिन्छ। यसैगरी जाहेरी दरखास्तमा उल्लेखित मोहम्मद अफताब आलमको घरको मिति २०६५/०१/१५ मा गरिएको घटनास्थल मुचुल्कामा सो घरको सबै कोठाहरू जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, सो कोठाभित्र कुनै प्रकारको बम विस्फोटन नभएको देखिएको भनी विवरण तयार गरेको देखिन्छ। यसैगरी अनुसन्धानको क्रममा मिति २०६५/०१/२० मा तयार गरिएको घटनास्थल बरामदी मुचुल्कामा प्रतिवादी मोहम्मद अफताब आलम र प्रतिवादी मोहम्मद महताब आलम, प्रतिवादी शेख भदई, प्रतिवादी मोहम्मद मोविन आलमको घरमा अपराधसँग प्रमाण लाग्ने दसीको कुनै सबुद प्रमाण फेला नपरेको भनी विवरण तयार गरेको देखिन्छ। यस आधारमा पनि अदालतले फैसला गरेको हो कि भन्ने कुरा देखिन्छ।

मृतक भनिएको ओसी अख्तरको स्विटर, जुत्ता, मोजाहरूको परीक्षण प्रतिवेदनमा जाँच गर्ने Central Police Forensic Science Laboratory को Benzidine test गरी दिएको मिति २०६५/०१/१३ को प्रतिवेदनमा Blood could not be detected रगत फेला नपरेको अवस्था छ। राजा इँटा उद्योग प्रा.लि. का प्रोप्राइटर मो. एखलाल आलम, सो उद्योगमा काम गर्ने व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको कागजमा मिति २०६४/१२/२७ मा इँटा भट्टामा काम गर्ने साहु तथा कामदारबाहेक अन्य कोही पनि नआएको, मृतक लास ल्याई इँटा पकाउनेमा जलाई नष्ट गरेको होइन भनी कागज गरेको देखिन्छ।

मृतक भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा मिति २०६४/०९/०३ मा चलेको ०६४ को फौ.नं. ६८ को मानव ओसारपसार मुद्दाको फरारी प्रतिवादी रहेको रौतहट जिल्ला अदालतको मिति २०६५/०९/२० को फैसलाबाट देखिन्छ। आफ्नो पति मृतक भनिएका ओसी अख्तर मियाँ मजदुरको सिलसिलामा विदेश गएको भनी निजकी श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा २०७६ साल कात्तिकमा सत्यतथ्य खुलाई निवेदन दिएको देखिन्छ र सोही व्यहोराको अदालतमा बकपत्र समेत गरेको देखिन्छ। यसैगरी ओसी अख्तरका ससुरा समसुल मियाँले २०६४ सालको निर्वाचनको ३/४ दिनपछि ओसी अख्तर मियाँ र त्रिलोक प्रताप सिंहले आफूसँग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको, त्यसपश्चात् मात्र घरबाट निस्केका हुन् भनी अदालतमा बकपत्र गरेको देखिन्छ। मृतक भनिएका ओसी अख्तरका काका जाजुल मियाँ कवारीले मिति २०६४/१२/२७ को कागज झुट्टा हो, बम विस्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुट्टा हो, मृतक भनिएका ओसी अख्तरले २०६४ सालको चुनावको ३/४ दिनपछि सर्लाहीको लालबन्दीमा समसुल मियाँलाई भेटेका थिए, झुट्टा मुद्दा चलाउन वर्ष दिनपछि मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए, मिति २०६५/०१/२८ मा आफूलाई जबरजस्ती कागज गराएका थिए भनी बकपत्र गरेको देखिन्छ।

सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिम पुनः अनुसन्धान हुँदा मिति २०७६/०४/२५ मा घटना विवरण कागज गर्ने शैलेन्द्र साह समेतका व्यक्तिहरूले “बम विस्फोटनबाट पूर्ण रूपले क्षति भएको शेख इद्रिसको गोठघर यी सबै प्रतिवादीहरू भारतीय नागरिक आफन्तहरूको सहयोगमा सोही राति पुनः गोठघर निर्माण गरी सो गोठघरमा गाईवस्तुको खानको लागि भुस राखी त्यसपछि अन्य पुराना घरहरूबाट माकुराको जालो ल्याई सो घरभित्र घरको छानामा जालो लगाई घटनास्थललाई कृत्रिम रूपमा परिवर्तन गरेका हुन्” भनी कागज गरेको देखिन्छ। माकुराको जालो अति संवेदनशील रहने, त्यसलाई उठाउँदा वा चलाउँदा नष्ट हुने र एक ठाउँबाट अर्को ठाउँमा लगी जालो लगाउन सम्भव छैन भन्ने सामान्य ज्ञानको विषय हो। घटना विवरण कागज गर्ने मध्येका शैलेन्द्र साहले अदालतमा उपस्थित भई बकपत्र गर्दा “माकुराको जालो एक घरबाट अर्को घरमा लगेर राख्न हुबहु सकिँदैन” भनी खुलाएको पनि देखिन्छ। बम विस्फोटनबाट क्षतिग्रस्त गोठघर पुनः निर्माण गरी गोठघरमा भुस राख्न सकिएला तर पुरानो घरबाट माकुराको जालो ल्याई घरको छानोमा जालो लगाउन सकिन्छ भन्ने कुरा विश्वसनीय देखिन आएन। अनुसन्धानकर्ताबाट मिति २०६५/०१/१४ मा तयार गरिएको घटनास्थल मुचुल्काको सत्यता र मौलिकता गोठघरको छानोमा लागेको माकुराको पुरानो जालोबाट पुष्टि हुन्छ।

अनुसन्धानको क्रममा सङ्कलन गरिएको घटनास्थल मुचुल्का वारदातको आधारभूत प्रमाणको रूपमा लिनुपर्छ। विस्फोटन भएको भनिएको दाबीको गोठघरको अवस्था सामान्य रहेको, सो कोठाहरूमा कुनै प्रकारको विस्फोटन नभई क्षति भएको जस्तो नदेखिएको भनी घटनास्थल मुचुल्कामा नै उल्लेख भएको अवस्थामा तथा सो घटनास्थल मुचुल्कालाई झुट्टा सावित गरी सो गोठघरमा बम विस्फोटन भएको हो भनी पुष्टि हुने सोही स्तरको भरपर्दो र विश्वसनीय ठोस र वस्तुनिष्ठ प्रमाणको अभावमा अदालतले वादी दाबीबमोजिम सो गोठघरमा बम विस्फोटन भएको हो भनी मान्न मिल्ने देखिएन। सो गोठघरमा बम विस्फोटन भएको हो भनी वादीले नै पुष्टि गर्नुपर्छ। सोको ठोस र वस्तुनिष्ठ प्रमाणको अभावमा वादी दाबी पुग्न सक्दैन।

जाहेरी दरखास्तवाला मध्येका शैलेन्द्र साहको जाहेरी व्यहोरा एवं घटना विवरण कागज गरेको देखिन्छ। निजले मिति २०६४/१२/३० मा अफताब आलमको घरमा बम विस्फोट भएको भनी जाहेरी दिएकोमा घटना विवरण कागजमा शेख इद्रिसको घरमा बम विस्फोट भएको भनी जाहेरीभन्दा फरक व्यहोरा लेखाएको देखिन्छ। यसैगरी सुरु जाहेरीमा सो घटनामा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ लगायत दर्जनौँको मृत्यु भएको र त्यसमा मृत्यु भएका दर्जनौँ लासलाई घटनास्थल नजिकैको निजको आफन्तको इँटा पकाइरहेको चिम्नीमा सो लासहरूलाई लगी जलाई नष्ट गरेको भन्ने व्यहोरा लेखाएको देखिन्छ। घटना विवरण कागजमा १५/१६ जना व्यक्ति घाइते भएको, ओसी अख्तर र त्रिलोक प्रताप सिंह घाइते भई छटपटाइरहेको, घाइते भएका मानिसहरूलाई प्रत्यक्ष आफ्नै आँखाले देखेको हुँ भनी लेखाएको र सो व्यहोरा मिलान हुने गरी अदालतमा बकपत्र गरेको देखिन्छ। निजले भनेको वारदातमा मानिसहरूको मृत्यु भएको हो वा घाइते भएका हुन्? निजको भनाइमा एकरूपता नदेखिएको अवस्था छ। बम विस्फोटका घाइतेहरूलाई आफूले प्रत्यक्ष देखेको भनी घटना विवरण कागज र अदालतमा बकपत्र गरेकोमा सुरु जाहेरीमा सो घटनाको आफू प्रत्यक्षदर्शी रहेको लेखाउन सकेको देखिएन। पछि फोनमार्फत सञ्चार माध्यमलाई खबर गरेको भनेकोमा निजले सो वारदातको फोटो खिची पेस गर्न सकेको देखिएन। निजले फोटो खिची पेस नगरेको अवस्था समेतबाट निजले प्रत्यक्ष देखेको भन्ने भनाइ विश्वासयोग्य देखिन आएन। निजको बकपत्र र घटना विवरण कागज परस्परमा विरोधाभासयुक्त रहेको देखिन्छ। यसैगरी त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइते भई हात, खुट्टा, पेटमा चोट लागी रगत बगेको भनी भनेकोमा फोरेन्सिक रिपोर्टमा ती व्यक्तिहरूको कपडामा रगत फेला नपरेको भन्ने प्रतिवेदन रहेको देखिन्छ।

नेपाल सरकारका साक्षी हरिनारायण साहले बम विस्फोट हुँदा घरमा आगो लागेको, घरको छाना उडेको, घरको वाल भत्केको, मिति २०६४/१२/२८ मा घरको निर्माण गरिएको हो भनी बकपत्र गरेकोमा निजले नै सोको फोटो छैन, बकपत्रको स.ज. ४१ मा बमले आगो लागेको भनेकोमा स.ज. ५५ मा बम विस्फोटसम्म भएको हो, आगो लागेको थिएन भनी परस्परमा विरोधाभासपूर्ण बकपत्रको कुरा छ। साक्षी मेवालाल राय यादवले वारदात आँखाले देखेको, त्यहाँ सुनर महरा, हरिनारायण साह तेली, परीक्षण साह तेली, राम बहादुर साह तेली रहेको भनी बकपत्र गरेकोमा स.ज. १५ मा मिति २०६४/१२/२७ गते बेलुका ६:३० बजे आफ्नै घरमा रहेको, त्यहाँ आफ्ना आफन्तहरूसँग बसेको भनी बोलेको पाइन्छ। यसैगरी बकपत्रको स.ज. १७ मा जिल्ला प्रहरी कार्यालयबाट फोन गरी बोलाउँदा मिति २०७६/०३/१० मा मात्र बम काण्डको बारेमा थाहा पाएको भनी भनेको पाइन्छ। मेवालाल राय यादव, शिव साह कानु, रवि कुमार, सुनर राम, राम बहादुर साह, हरिनारायण साह, परीक्षण साह तेली, शङ्कर साह तेलीले मिति २०६४/१२/२७ को घटनाको विषयमा २०७६ साल असार पछि मात्र घटना विवरण कागज गरेको देखिन्छ। यसरी १२ वर्षसम्म यति भयानक भनिएको वारदातको सूचना प्रहरीसमक्ष नदिनुको कुनै युक्तियुक्त कारण र आधार मिसिलबाट खुलेको देखिएन। सफी अहमदले गरेको घटना विवरण कागज र फोरेन्सिक जाँच प्रतिवेदनमा उल्लेख भएको “The probable causation of the injury is blast injury” भन्ने र सोही प्रतिवेदनमा “Causative factors of the injury cannot be determined” भन्ने कुरालाई विरोधाभासको रूपमा फैसलामा उल्लेख गरेको पाइन्छ। त्यसै सफी अहमदले अदालतमा मितिमा आफू भारत पन्जाबमा रहेको, आफ्नो पेटमा पत्थरी अपरेसनको खत रहेको, मिठा पकाउँदा पोखिएर पेटमा लागेको घाउको खत रहेको, सोबाहेक अन्य खत नरहेको भनी खुलाएको भन्ने कुरालाई पनि फैसला गर्ने आधार लिएको देखिन्छ।

वादीका साक्षी शैलेन्द्र साह समेत २०६४ सालको संविधानसभाको निर्वाचनमा एउटै क्षेत्रबाट उम्मेदवार रही प्रतिवादी मो. अफताब आलम विजयी भएको र निज शैलेन्द्र साह पराजित भएको मिसिलबाट देखिएको अवस्थामा म.ज.अ. फोरमका अब्दुल जवार, त.म.लो.प.का नागेन्द्र प्र. सिंह, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनारले अदालतमा बकपत्र गर्दा शैलेन्द्र साहले राजनीतिक प्रतिशोध साध्न उजुरी दिएको खुलाएको देखिन्छ। जाहेरवाला गौरीशङ्कर राम चमारले मिति २०७६/०७/१३ मा जाहेरी दरखास्त दिएकोमा अदालतसमक्ष बकपत्र गर्दा बम विस्फोटको छर्राले कान, छातीमा समेत आगो लागेको, ६००/७०० मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडेँ, मेरो खल्तीबाट बिस्तारै डायरी निकाली मेरो डायरीको नम्बरमा फोन गरी मेरो भाइको ससुरा आई भारतको सीतामढी अस्पतालमा लगी २०-२२ दिनपछि होस आउँदा आफू हस्पिटलमा रहेको थाहा भयो भनी व्यहोरा खुलाएको देखिन्छ। निजले बेहोसी अवस्थामा डायरी निकाली भाइको ससुरालाई फोन गरी निजले अस्पताल लगेको भनी जाहेरी दरखास्तभन्दा फरक व्यहोरा उल्लेख गरेको तथा निजले उपचार गरेको भनिएको अस्पतालको कागजातमा स्टोभ पड्की घाउ खत लागेको भन्ने देखिँदा निजको शरीरको खत बम विस्फोटको खत रहेको कुरा झुट्टा सावित हुन्छ।

कुनै पनि फौजदारी कसूरको अभियोगमा कसैलाई दोषी ठहर गर्न सर्वप्रथम आपराधिक घटनाको वारदात स्थापित भएको हुनुपर्दछ। कुनै पनि व्यक्ति काल्पनिक वारदात वा अनुमानित वारदातका लागि दोषी ठहर्नु हुँदैन भन्ने फौजदारी न्यायको स्थापित मान्यतालाई हाम्रो फौजदारी विधिशास्त्रले स्वीकार गर्दै आएको छ। प्रस्तुत मुद्दामा वादी दाबीअनुसारको वारदात भएको तथ्य स्थापित हुन नसकेको मात्र नभई कानूनी व्यवस्थातर्फ पनि अभियोजन पक्षको ध्यान पुग्न सकेको देखिँदैन। कमजोर अनुसन्धान तहकिकात, जाहेरी दरखास्त र जाहेरवालाको बकपत्रबाट विरोधाभास देखिएको तथ्यहरूको आधारमा गरिएको अभियोजन र आफूले लिएको दाबी स्थापित गराउन न्यूनतम प्रमाणसमेत प्रस्तुत गर्न नसकेको अवस्थामा शङ्का, अनुमान र अन्दाजका आधारमा गरिएको अभियोग दाबीका आधारमा कसैलाई कसूरदार ठहर्‍याउन न्यायोचित हुँदैन। आपराधिक घटनाको वारदात स्थापित भइसकेपछि मात्र अभियोग लगाइएको व्यक्तिले नै त्यस्तो अपराध गरेको हो भनी प्रमाणित गर्नुपर्दछ। कुनै पनि व्यक्तिलाई त्यस बेलासम्म दोषी करार गर्न सकिँदैन जबसम्म वादी दाबीअनुसारको आपराधिक वारदात भएको तथ्य स्थापित हुँदैन। आपराधिक वारदात भएको तथ्य स्थापित हुनुपर्दछ भन्ने कुरा प्रमाणसम्बन्धी नियमका साथै फौजदारी कानूनको आधारभूत व्यवस्था पनि हो। त्यसैगरी अभियोजन पक्षले आपराधिक घटनाको वारदात (Corpus delicti) स्थापित नगरेसम्म कसैलाई कसूरदार बनाइनु हुँदैन भन्ने फौजदारी कानूनको आधारभूत नियम हो।

अन्तमा माथि उल्लेख गरिएका फैसलाले ग्रहण गरेका कुराहरू मात्र हेरेको आधारमा म मेरो धारणा बनाउँदिनँ। यसको जिम्मा सबै पाठकहरूलाई दिन्छु। जे जति आधार र कारणहरू ग्रहण गरिएका छन् यदि ती मिसिल संलग्न पनि पाइन्छन् भने यो फैसला समग्रमा न्यायको रोहमा सही फैसला हो भन्नुपर्छ भन्ने मलाई पनि लाग्छ तर फैसला गर्दा यी उल्लेख गरिएभन्दा फरक तथ्य रहेको पाइएमा न्याय परिषद्का निर्णयकर्ताले स्वतन्त्र रूपले न्याय गरेमा फरक पर्दैन होला। अनुसन्धानको क्रममा प्रमाण नष्ट गरिएको आशङ्का गर्ने हो भने पनि अदालत आफैँले प्रमाण सिर्जना गर्ने होइन। अदालतले आफ्नो अन्तस्करणको आवाज फैसलामा राख्न मिल्ने पनि होइन। अदालतले मिसिल प्रमाणको निष्कर्ष उद्घोष गरी स्वच्छ र निष्पक्ष निर्णय दिने हो। मिसिल प्रमाणभन्दा बाहिर गई झ्यालबाट हेरी वा पत्रिका पढी वा भिडबाट डराई निर्णय दिने भएमा न्यायमा विचलन आउनका साथै समग्र न्यायाधीश जगत् स्वतन्त्र र साहसका साथ न्याय दिन वञ्चित हुनुपर्छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज