काठमाडौं । विवादास्पद व्यक्ति इनम सापकोटाको डिजिटल उपकरण (मोबाइल) मा सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको संवाद तथा नाम जोडिएका विवरणहरू बाहिरिएपछि सर्वोच्च अदालतमा छलफल भएको छ । यसै विषयलाई लिएर शुक्रबार डाकिएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायाधीशहरूले न्यायालयभित्रै अध्ययन समिति गठन गर्न सुझाव दिएका छन्।
शुक्रबार बसेको बैठकमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालको नाम सापकोटासँग जोडिएर आएको विषयमा न्यायाधीशहरूले जिज्ञासा राखेका थिए। बैठकमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाल दुवैले आफ्नो स्पष्टीकरण र भनाइ प्रस्तुत गरेका थिए।
सार्वजनिक भएका विवरणहरूले न्यायालयको छवि र जनविश्वासमा गम्भीर असर पार्न सक्ने भन्दै न्यायाधीशहरूले बाहिरिएका तथ्यहरूबारे निष्पक्ष र विस्तृत छानबिनका लागि न्यायपालिकाभित्रैबाट एक अध्ययन समिति गठन हुनुपर्नेमा जोड दिएका छन्।
बैठकमा न्यायाधीशहरूबीच प्रारम्भिक संवाद भए पनि निर्णय भने हुन सकेन। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणमा रहेको र अर्का न्यायाधीश अब्दुल अजीज मुसलमान बिदामा रहेकाले पूर्ण उपस्थितिसहित आगामी सोमबार फेरि विस्तृत रूपमा फूलकोर्ट बैठक बस्ने सहमति भएको छ।
“सबै न्यायाधीशहरूको उपस्थितिमा सोमबार पुनः फूलकोर्ट डाकेर यस विषयमा विस्तृत र ठोस निर्णय लिने तय भएको छ,” सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए।
इनम सापकोटासँग उच्च पदस्थ अधिकारी र न्यायाधीशहरूको संवाद बाहिरिएपछि न्यायपालिकाभित्र बहस तीव्र बनेको छ भने नेपाल बार एसोसिएसन लगायत सरोकारवाला निकायहरूले पनि निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।

