टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्लाको आदेश उच्चबाट पनि सदर

काठमाडौं । व्यवसायी तथा टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ। उच्च अदालतको यस निर्णयसँगै अधिकारीको थुनामुक्त हुने प्रयास असफल भएको छ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्ला अदालतको आदेश नै कायम राखेको हो। यसअघि ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले गत जेठ २१ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सो आदेश चित्त नबुझेपछि अधिकारीले उच्च अदालतमा पुनरावेदन निवेदन दिएकी थिइन्।

इन्टरपोलको सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीविरुद्ध आपराधिक लाभ, संगठित अपराध, हुन्डी कारोबारमार्फत अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिंग) जस्ता गम्भीर प्रकृतिका कसुरमा मुद्दा दायर गरिएको छ। उनीमाथि २१ करोड १२ लाख २० हजार ४०६ रूपैयाँ १६ पैसा बराबरको बिगो दाबी गरिएको छ।

अदालतको यस आदेशसँगै अधिकारीले मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमै रहेर कानुनी प्रतिरक्षा गर्नुपर्ने भएको छ। अभियोगको अन्तिम निरूपण भने अदालतबाट हुन बाँकी छ।

सम्बन्धित समाचार

ताजा न्यूज