चाडपर्वको मुखमा सबै घर फर्कने तयारीमा जुटिरहेका बेला आफू भने घर छोडेर हिँड्नुपर्ने भावनात्मक पीडा बेग्लै हुँदो रहेछ। दशैँ नजिकिँदै आउँदा देशमा चाडपर्वको रौनक हुने नै भयो। परिवारसँगको पुनर्मिलन, ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने उत्साह अनि प्रियजनसँग समय बिताउने उमङ्गले गाउँघरदेखि सहरसम्म खुसीयाली छाउँछ नै। तर धेरै नेपालीका लागि यो वर्ष पनि सधैँ झैँ देश छोड्नेहरूको लर्को कम देखिएन। उनीहरूमध्ये कोही उच्च शिक्षाको खोजीमा, कोही रोजगारी तथा सुरक्षित भविष्यको आशामा विदेशिन बाध्य छन्। उनीहरूको यात्रामा आशा, जिम्मेवारी र महत्त्वाकांक्षा जे भए पनि त्यस पछाडि स्वदेशमै अवसरको अभाव र कठिन परिस्थितिको वास्तविकता लुकेको प्रस्ट छ। सुनौलो भविष्य निर्माण गर्ने चाहनाले मानिसलाई आफूलाई सबैभन्दा बढी माया गर्ने घर–परिवार, साथीसंगी र समाजबाट टाढा हुन बाध्य बनाउँदो रहेछ।
यस वर्ष म पनि त्यस्तै मानिसहरूमध्ये एक बनेँ। दशैँ आउनुभन्दा केही समयअघि म विदेशमा एलएल.एम. को उपाधि हासिल गर्ने आफ्नो सपना पूरा गर्न देश छोडेर परदेश आएँ। यस अवसरका लागि मैले महिनौँ मेहनत गरेको थिएँ। आफ्नो सपना साकार हुँदै गएकोमा म खुसी थिएँ तर दशैँको मुखमा परिवार छोडेर हिँड्नु सहज भएन। म आफ्नो शैक्षिक लक्ष्यतर्फ अघि बढिरहेको भए पनि परिवारको आत्मीयता, चाडपर्वको रौनक र जीवनका प्रियक्षणहरूबाट पनि टाढिँदै थिएँ। त्यतिबेला मैले महसुस गरेँ कि सपना पूरा गर्न कहिलेकाहीँ त्यसको मूल्य मनले चुकाउनु पर्दोरहेछ।
मैले नेपालमै एलएल.एम. अध्ययन गर्न सक्थेँ। तर फरक शैक्षिक वातावरणको अनुभव lिन र अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न मैले विदेशको एउटा प्रतिष्ठित सार्वजनिक विश्वविद्यालय रोजेँ। विदेशी डिग्री स्वदेशी डिग्रीभन्दा स्वतः उत्कृष्ट हुन्छ भन्ने होइन, तर बीएएलएलबी अध्ययनका करिब छ वर्षको दौरानमा देखेका र भोगेका चाकडी, राजनीतिक प्रभाव, नातावाद र कृपावादबाट मुक्त शैक्षिक वातावरणको खोजीमा मैले विदेश रोजेँ। त्यसैले यो मेरो व्यक्तिगत शैक्षिक आकांक्षा थियो। तर देश छोडिरहँदा मेरो मनमा एउटा प्रश्न उठिरह्यो— किन यति धेरै नेपालीले आफूले चाहेको शिक्षा, रोजगारी र भविष्य प्राप्त गर्न विदेश जानैपर्छ भन्ने महसुस गर्छन्?
मेरो विदेश यात्रा मुख्यतः शैक्षिक लक्ष्यसँग सम्बन्धित हो तर धेरै नेपालीका लागि विदेश जानु व्यक्तिगत चाहनासँगै एक प्रकारको बाध्यता पनि हो। कोही राम्रो शिक्षा प्राप्त गर्न विदेश जान्छन्, कोही शिक्षा हासिल गर्दै आर्थिक उपार्जन गर्न चाहन्छन्, र कोही शुद्ध रूपमा रोजगारी खोज्न, परिवार पाल्न, ऋण तिर्न वा आर्थिक रूपमा सुरक्षित जीवन निर्माण गर्न देश छोड्छन्। उनीहरूका लागि स्वदेशमै बस्ने विकल्प या तो क्रमशः सीमित हुँदै जान्छ, या तो विदेश जाने चाहना र मोह बढ्दै जान्छ। यस्तो समस्या हाम्रो प्रतिभा, मेहनत वा क्षमताको कमीका कारण भन्दा ती क्षमता, सीप र दक्षता प्रयोग गर्न तथा आफ्ना सपना पूरा गर्न पर्याप्त अवसर नहुनुका कारण उत्पन्न हुन्छ। त्यसैले वैदेशिक पलायन केवल दूरी पार गर्ने यात्रा मात्र नभएर यो परिवार, सम्बन्ध र व्यक्तिगत सपनासँग जोडिएको एउटा गहिरो निर्णय हो।
महान् चाड दशैँ र तिहारले यो विछोडलाई अझ गहिरो बनाउँछन्। यी चाडपर्व परिवार एक ठाउँमा भेला हुने, ठूलाबडाबाट आशीर्वाद लिने, दाजुभाइ तथा दिदीबहिनी भेटघाट गर्ने र पुराना सम्बन्धलाई नवीकरण गर्ने अवसर हुन्। तर विदेशमा रहेका धेरै नेपालीहरूका लागि यी चाडपर्व भिडियो कल र पर्दामा देखिने मुस्कानमा सीमित हुन्छन्। प्रविधिले अनुहार र आवाज जोड्न सक्छ तर परिवारसँगै बसेर टीका र जमरा ग्रहण गर्ने, सँगै खाना खाने र आत्मीयता बाँड्ने क्षणको स्थान लिन सक्दैन। अरूहरूले चाडपर्व मनाइरहेका तस्बिर हेर्दा आफू पनि घरमै भएको भए हुन्थ्यो भन्ने चाहना धेरैको मनमा जाग्छ। चाडपर्वको खुसीका पछाडि लुकेको यो मौन पीडा पनि हाम्रो समाज र विशेषगरी सरकारले गम्भीर रूपमा बुझ्न आवश्यक छ।
यद्यपि विदेश जानु सधैँ दुःखद निर्णय भने होइन। विदेशमा अध्ययन र रोजगारीले नयाँ ज्ञान, सीप, अनुभव र आर्थिक अवसर प्रदान गर्न सक्छन्। मानिसहरूलाई संसार बुझ्ने र आफ्नो क्षमता विकास गर्ने स्वतन्त्रता हुन्छ। तसर्थ समस्या विदेश जानुमा मात्र होइन, विदेश जानु नै भविष्य निर्माण गर्ने એક मात्र व्यावहारिक विकल्प बन्नुमा हो। मानिसहरू आफ्नो इच्छाले नयाँ अवसर खोज्न विदेश जानु र स्वदेशमा सम्भावना नदेखेर बाध्यतावश जानुबीच ठूलो भिन्नता छ। तसर्थ सरकारको उद्देश्य हामीलाई नेपालमै बस्ने वा विदेश जाने भन्ने निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने वातावरण बनाउनु हो।
यहीँनेर नेपालको राजनीतिक नेतृत्व वा सरकारले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ। नेपाली युवामा महत्त्वाकांक्षा, मेहनत र क्षमताको कमी छैन। संसारका विभिन्न देशमा नेपालीहरूले कठिन परिस्थितिमा काम गरेर आफ्नो परिवारको आर्थिक अवस्था सुधारिरहेका छन्। उनीहरूले पठाउने विप्रेषणले शिक्षा, स्वास्थ्य, आवास र दैनिक जीवनका आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। उनीहरूको योगदान सम्मानयोग्य छ तर आफ्ना नागरिकले विदेशमा गरेको श्रम र त्यागमा अनिश्चितकालसम्म निर्भर रहेर देशको दिगो विकास सम्भव हुँदैन। विप्रेषणले परिवार र अर्थतन्त्रलाई सहयोग गर्न सक्छ तर यसले स्वदेशमै उत्पादनशील उद्योग, मर्यादित रोजगारी र उद्यमशीलताका अवसरहरूको स्थान भने लिन सक्दैन।
नेपालका राजनीतिक तथा आर्थिक चुनौतीहरू झन्डै चार दशकदेखि कायम छन्। बेरोजगारी, कमजोर औद्योगिक विकास, शिक्षा र श्रम बजारबीचको दूरी, भ्रष्टाचार र नीतिगत अस्थिरताले जनतामा निराशा बढाएका छन्। यी समस्याहरू एकै दिनमा समाधान हुँदैनन्, न त तिनको सम्पूर्ण जिम्मेवारी एउटै सरकारमाथि थोपर्न सकिन्छ। तर विगतका कमजोरीलाई देखाएर वर्तमान नेतृत्वले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। राजनीतिक नेतृत्वको मूल्याङ्कन भाषण र घोषणाका आधारमा मात्र होइन, उसले सिर्जना गरेका अवसर र हासिल गरेका परिणामका आधारमा हुनुपर्छ।
यहाँ कृषि, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा तथा साना र मझौला उद्यममा पर्याप्त सम्भावना छ। यी क्षेत्रमा लगानी बढाउने, पूर्वाधार सुधार्ने, उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउने र लगानीमैत्री वातावरण निर्माण गर्ने हो भने स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ। योग्य र प्रतिभाशाली युवाले रोजगारी पाउन राजनीतिक पहुँच खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। नियुक्ति प्रक्रिया पारदर्शी हुनुपर्छ, प्रतिस्पर्धा निष्पक्ष हुनुपर्छ र योग्यताको कदर हुनुपर्छ। युवाले आफ्नो भविष्य बनाउन देश छोड्नैपर्छ भन्ने महसुस गर्ने अवस्थालाई परिवर्तन गर्न राज्यले ठोस कदम चाल्नुपर्छ।
शिक्षा क्षेत्रमा पनि सुधार आवश्यक छ। गुणस्तरीय शिक्षा र अनुसन्धानका अवसर विदेशमा मात्र उपलब्ध छन् भन्ने धारणा परिवर्तन गर्न नेपालका विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई व्यावहारिक रूपमा स्वायत्त र बलियो बनाउनुपर्छ। विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र अनुसन्धानको अवसर प्रदान गर्नुपर्छ। शिक्षालाई रोजगारी र समाजको आवश्यकतासँग जोड्नुपर्छ। विदेशमा अध्ययन गरेर फर्किएका विद्यार्थी र दक्ष जनशक्तिले आफ्नो ज्ञान र अनुभव प्रयोग गर्न सक्ने वातावरण पनि निर्माण गर्नुपर्छ। शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई देशको विकासमा योगदान दिन सक्ने क्षमता निर्माण गर्ने आधार बन्नुपर्छ।
स्वदेशमा पर्याप्त अवसर उपलब्ध नहुँदासम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ। पारदर्शी भर्ती प्रक्रिया, रोजगार व्यवसायीको प्रभावकारी नियमन, कानुनी सहायता र विदेशस्थित नेपाली नियोगहरूको सक्रिय सहयोग हुनुपर्छ। श्रमिकहरूले परिवारको भविष्य निर्माण गर्ने क्रममा ठगी, शोषण र असुरक्षित कार्यपरिस्थितिको सामना गर्नुपर्ने अवस्था हुनु हुँदैन। साथै विदेशबाट फर्किएका श्रमिक र दक्ष जनशक्तिको सीप, ज्ञान र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति बनाई यथाशीघ्र कार्यान्वयन गरिनु पर्छ।
अन्ततः देशको विकासलाई आर्थिक वृद्धि वा विदेशबाट भित्रिने विप्रेषणको रकमले मात्र मापन नगरेर कम्तीमा एउटा स्नातकले आफ्नो योग्यता र क्षमता अनुसार रोजगारी पाउँछ कि पाउँदैन? एउटा परिवारले इमानदार श्रमबाट सम्मानजनक जीवन बिताउन सक्छ कि सक्दैन? एउटा युवा उद्यमीले अनावश्यक अवरोधबिना व्यवसाय सुरु गर्न सक्छ कि सक्दैन? युवाले आफ्नो भविष्य निर्माण गर्न देश छोड्नु नै एक मात्र विकल्प हो भन्ने महसुस नगरी आफ्ना सपना पूरा गर्न सक्छन् कि सक्दैनन्? यी प्रश्नहरूले देशको वास्तविक विकासको अवस्था देखाउँछन्। तसर्थ विकासको सफलता र सूचक नागरिकले आफ्नो देशभित्रै सुरक्षित, सम्मानजनक र अर्थपूर्ण जीवन निर्माण गर्न पाउने अवसरमा प्रतिबिम्बित हुनुपर्छ।
आफ्नो विदेश यात्रालाई फर्केर हेर्दा म अध्ययन गर्ने अवसर पाएकोमा खुसी छु। आफ्नो निर्णयप्रति मलाई पछुतो छैन र नेपाल छोड्नु भनेको नेपाललाई त्याग्नु हो भन्ने पनि म मान्दिनँ। म सिक्न, आफूलाई विकसित गर्न र आफ्नो अनुभवलाई भविष्यमा अर्थपूर्ण रूपमा प्रयोग गर्न चाहन्छु। तर, मेरो प्रस्थानले धेरै नेपालीले किन आफ्नो देश छोड्नुपर्छ भन्ने महसुस गर्छन् भन्ने विषयमा पनि व्यावहारिक रूपमा मलाई सोच्न बाध्य बनाएको छ। देखाइ-सुनाइ र भोगाइमा ठूलो अन्तर हुन्छ नै। मलाई पनि त्यस्तै भयो यद्यपि मानिसहरूले आफ्नो सपना पूरा गर्न घरसँगको सम्बन्ध त्याग्नुपर्ने महसुस गर्नु हुँदैन भन्ने विश्वास ममा अझ बलियो बनाएको छ। भविष्यका पुस्ताले नेपालमै गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी र अर्थपूर्ण जीवनका अवसर प्राप्त गर्न सकून् भन्ने मेरो चाहना छ।
विदेशमा ज्ञान, सीप र अनुभव हासिल गर्नु अवसर हो, तर स्वदेशमा सम्भावना नदेखेरै घरपरिवारबाट टाढिनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ। मेरो चाहना विदेशमा सिकेको ज्ञान र सीपलाई आफ्नो उन्नतिसँगै देशको विकासमा पनि उपयोग गर्न सकियोस् भन्ने हो। देशको वास्तविक प्रगति त्यतिबेला हुनेछ, जब युवाले स्वदेशमै योग्यता, सीप र क्षमता अनुसारको अवसर, सम्मानजनक रोजगारी र सुरक्षित भविष्य पाउनेछन्, र विदेश जानु बाध्यता नभई रोजाइ बन्नेछ। त्यो दिनसम्म, परिवार, समाज र देशबाट टाढा मनाइने हरेक दशैँ र तिहारले एउटै प्रश्न उठाइरहनेछ-देश छोड्ने रहर होइन, आफ्नै देशमा बसेर सपना पूरा गर्न सक्ने आधार खोइ?
सबैमा सुख, शान्ति र समृद्धिको कामनासहित दशैँ तथा तिहार २०८३ को हार्दिक मङ्गलमय शुभकामना!

