काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा एकतर्फी रूपमा अधिवेशनको कार्यतालिका घोषणा गरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ।
मङ्गलवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै डा. कोइरालाले अदालतको फैसला नपर्खी वा संवादमार्फत सहमति नखोजी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न नसकिने स्पष्ट पार्नुभयो।
पार्टी अहिले अत्यन्तै असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक संस्कार, वैधानिकता र सङ्गठनात्मक एकता जोगाउन नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। पद बाँडफाँडलाई मात्र समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको गौरवशाली इतिहास र मर्मलाई कमजोर बनाउने चेतावनी दिँदै उहाँले नेता-कार्यकर्ताको आत्मसम्मान पदको सौदाबाजीको विषय बन्न नसक्ने बताउनुभयो।
डा. कोइरालाले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको संस्थापन पक्षको अधिवेशनमा सहभागी नलिन कार्यकर्तालाई आह्वान गर्नुभएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशन र आगामी मङ्सिर २१, २२ र २३ गते तय भएको केन्द्रीय महाधिवेशनलाई सफल बनाउन उहाँले सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।


