काठमाडौँ। अस्पतालको आइसियू (ICU) मा उपचाररत बिरामीहरूसँग अन्तर्वार्ता लिई प्रसारण गरिएका भिडियो सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले यस विषयमा पत्रकार आचारसंहिता अनुसार अनुगमन गर्दै सम्बद्ध सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी छानबिन प्रक्रिया अघि बढाएको छ।
रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली ३ए जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूसँग अस्पतालको आइसियूभित्रै पुगेर लिइएको अन्तर्वार्ता ‘Inside the Bukner’ नामक युट्युब च्यानलबाट सम्प्रेषित भएपछि काउन्सिलले चासो देखाएको हो।
यस्तै, यसअघि सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भई सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक (गाइड) को आइसियूमा उपचार भइरहेकै अवस्थामा अन्तर्वार्ता लिई बिबिसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषयमा पनि काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्ति अनुसार सम्प्रेषित सामग्रीहरू पत्रकार आचारसंहिताको परिधिभित्र रहे-नरहेकोबारे थप अध्ययन तथा अनुगमन भइरहेको छ। सोही अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल प्रशासन र नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरिसकिएको काउन्सिलले जनाएको छ।


