सिभिल सहकारी ठगी प्रकरण: इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद, १६ दोषीबाट साढे ५ अर्ब बढी बिगो भराउन फैसला

काठमाडौँ । सिभिल बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले मुख्य प्रतिवादी इच्छाराज तामाङसहित १६ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय तोकेको छ। अदालतले दोषी ठहरिएका १६ जना प्रतिवादीबाट सर्वसाधारण बचतकर्ताको ठगी भएको ५ अर्ब ६७ करोड रुपैयाँ दामासाहीका आधारमा असुल गरी भराउनेसमेत फैसला गरेको छ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार सजाय निर्धारण गर्दै कैद, जरिवाना र बिगो भराउने फैसला गरेको हो। यसअघि गत भदौ ११ गते सोही इजलासले सहकारी ठगी प्रकरणमा संलग्न १६ जनालाई दोषी ठहर गरेको थियो।

अदालतको फैसलाअनुसार सहकारीका संस्थापक मुख्य प्रतिवादी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ। उनी २०७८ असोज १८ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन्।

त्यसैगरी, दोषी ठहर भएका केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार र लालकाजी गुरुङलाई १–१ वर्ष कैद र १०–१० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।

अदालतले प्रतिवादी लालकाजी गुरुङको हकमा उनले सहकारी संस्थाबाट लिएको ६ करोड ९० लाख रुपैयाँ ऋण ब्याजसहित तिर्नुपर्ने र कुल मूल बिगोबाट सो रकम घटाई आउने बाँकी बिगो रकम दामासाहीका हिसाबले तिराउने फैसला गरेको छ।

त्यस्तै, प्रतिवादीहरू दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीणकुमार प्रधान, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिमाललाई जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ। अर्की प्रतिवादी मीना गुरुङलाई भने ५ महिना कैद र ४ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज