राष्ट्रिय सभाको आक्रोशपछि कानुनमन्त्री सोबिता गौतमद्वारा संसद्‌मै क्षमायाचना

काठमाडौँ । ‘जेनजी आन्दोलन’ स्मृति दिवसका अवसरमा दिएको अभिव्यक्तिलाई लिएर माथिल्लो सदनमा विरोध भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभासमक्ष क्षमा मागेकी छन्। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्ना शब्दले कसैको भावनामा चोट पुगेको भए आफू क्षमाप्रार्थी रहेको स्पष्ट पारिन्।

भदौ २३ गतेको एक सार्वजनिक कार्यक्रममा कानुन निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अर्थ लाग्ने गरी बोलेको भन्दै सांसदहरूले मन्त्री गौतमको आलोचना गरेका थिए। संसद्‌मा प्रष्टीकरण दिँदै उनले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।”

यद्यपि, मन्त्री गौतमले आफ्ना भनाइको गलत व्याख्या गरिएको दाबी गर्दै आफ्नो बचाउ पनि गरिन्। उनले आफूले माथिल्लो सदनलाई नहोच्याएको र ‘असहयोग’ शब्द प्रयोग नगरेको दाबी गरिन्। “मैले राष्ट्रिय सभाले असहयोग गर्‍यो भन्ने शब्द कतै प्रयोग गरेकी छैन, माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,” उनले भनिन्, “मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु, तर नबोलेको कुराको जिम्मेवारी लिन सक्दिनँ।”

प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्रपति प्रमाणीकरण हुँदै कानुन बन्ने प्रक्रिया जटिल रहेको उल्लेख गर्दै उनले दुवै सदनबिचको सहकार्यबिना विधेयक अघि बढ्न नसक्ने स्वीकार गरिन्। पछिल्लो समय कानुन निर्माणमा भइरहेको ढिलाइलाई सम्बोधन गर्न र संसद्को कामलाई गति दिन दुवै सदनबिच सुमुधुर सम्बन्ध आवश्यक रहेकोमा उनले जोड दिइन्।

सम्बन्धित समाचार

ताजा न्यूज