काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
जननायक बीपी कोइरालाको जन्मजयन्ती तथा बीपी स्मृति दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भदौ २३ गतेको शान्तिपूर्ण युवा आन्दोलनमा भएको राज्य दमन, घुसपैठ गरी हिंसा भड्काउने समूह र भदौ २४ गते सिंहदरबार, अदालत लगायतका सार्वजनिक तथा निजी संरचनामा ध्वंस मच्चाउनेहरूलाई कानुनी दायित्वमा ल्याउनुपर्ने बताएका हुन्।
भदौ २४ गते आफ्नो घरसमेत जलेको र परिवार जोखिममा परेको स्मरण गर्दै थापाले आफ्नो व्यक्तिगत क्षतिभन्दा पनि घटनामा ज्यान गुमाएका र घाइते भएका युवाहरूको पीडा निकै ठूलो रहेको उल्लेख गरे। “आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेग र आक्रोशलाई प्रयोग गरेर प्रायोजित अपराध गरेको छ, उसले कुनै हालतमा माफी पाउनु हुँदैन,” थापाले भने।
सरकारले गठनलगत्तै भदौ २४ को घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले अनुसन्धानको प्रगतिबारे सरकारलाई प्रश्न गरेका छन्। साथै, भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न पनि उनले माग गरेका छन्।
अपराध गर्नेले सजाय नपाए समाज कहिल्यै न्यायपूर्ण र सभ्य बन्न नसक्ने चेतावनी दिँदै सभापति थापाले २३ र २४ गते अपराधमा संलग्न दुवै पक्षलाई कारबाही गरेर मात्र राज्यलाई जवाफदेही बनाउन सकिने स्पष्ट पारे।

