कानून मन्त्री गौतम र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नुभएको छ।

बुधबार मन्त्रालयमा भएको भेटमा राजदूत फेनले भोटेकोशी बाढीले निम्त्याएको अप्रत्याशित क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना प्रकट गर्नुभयो र सम्पर्कविहीन व्यक्तिहरूप्रति चिन्ता व्यक्त गर्नुभयो।

भेटका क्रममा जलवायु परिवर्तनका कारण अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नुपरेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउने विषय राख्नुभयो। राजदूत फेनले नेपाललाई यसमा बेलायतले बलियो समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको कानून मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री गौतमले अप्रत्याशित बाढीका कारण अबका विकासका कार्य उत्थानशील (विपद्-प्रतिरोधी विकास) हुन आवश्यक भएको र यसलाई नेपालले प्राथमिकता दिने बताउनुभयो। उहाँले दिगो र उत्थानशील विकासका लागि मित्रराष्ट्र र दातृ निकायको सहयोग निरन्तर रहने अपेक्षा गर्नुभयो।

राजदूत फेनले आर्थिक, प्राविधिक र मानवस्रोतमार्फत विकासका कार्य र पुनःस्थापनाका लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज