काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पेस गरेको पूरक रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालतले मङ्गलबार उक्त निवेदन दर्ता गर्दै प्रारम्भिक सुनुवाइका लागि बिहीबारको पेसी तोकेको छ।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार देउवा र खड्काले गत शुक्रबार नै पूरक रिट पेस गरेका भए पनि केही प्राविधिक विषय सच्याउन फिर्ता लगेका थिए। सोमबार पुनः पेस गरिएको निवेदनमाथि अध्ययन पश्चात् मङ्गलबार औपचारिक दर्ता गरिएको हो। यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबारे सर्वोच्चको निर्णय पुनरवलोकनका लागि परेको रिटमा अदालतले अनुमति दिइसकेकाले सो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने पक्षमा देउवा समूह रहँदै आएको छ।
कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका तोकेको अवस्थामा हालै केन्द्रीय निर्वाचन समितिले भदौ २४ देखि नै वडा अधिवेशन सुरु गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। निर्वाचन समितिले अघि बढाएको उक्त अधिवेशन कार्यतालिका बदर गर्न माग गर्दै देउवा र खड्काले सर्वोच्च अदालतसमक्ष आदेशको माग गरेका छन्।

