काठमाडौँ । विशेष कारण देखाउँदै मङ्गलबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार स्थगित भएको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी पुनर्निर्धारण गरिएको छ।
बैठक रोकिँदा आजको कार्यसूचीमा रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका मुख्य प्रस्तावहरू प्रभावित भएका छन्। आज मन्त्री गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने तथा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो।
त्यसैगरी संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पेस गर्ने कार्यक्रम पनि स्थगित भएको छ। संसद् सचिवालयले स्थगनको स्पष्ट विवरण नखुलाए पनि यी सबै कार्यसूचीहरू अब बुधबार बस्ने संसद् बैठकमा पेस हुने भएका छन्।


