हिमालको छातीमा हराएका निम्सको प्रतीक्षामा

म न्यूयोर्कमा थिएँ, जब मेरो स्कुलको जुनियर भाइ निम्सको फोन आयो, सन् २०२४ जुन महिनातिर। सन्दर्भ न्युयोर्क टाइम्सको थियो। न्युयोर्क टाइम्सले उसको बारेमा लेखेको दुर्व्यवहारसम्बन्धी समाचारको थियो। सोही समाचारको विषयमा कसरी गलत आरोपको कानुनी उपचार लिने अनि खण्डन गर्ने भन्ने थियो। पछि ती आरोपहरूले न कानुनी बाटो लिन सके, न आरोप पुष्टि भए। तर यी आरोपहरूले उसलाई केही समय मानसिक तनावमा राख्यो। उसको व्यक्तिगत ब्रान्डमा ठूलै धक्का लाग्यो। तर, एउटा निडर र उद्देश्यशील युवाले गलत आरोपबाट आफूलाई सम्हाल्दै सफलताको शिखरमा पुग्ने एक साहसी युवा हो निम्स।

निम्स मेरै स्कुल स्मल हेभन स्कुलको उपज हो। जुनियर भाइ। प्रभावकारी व्यक्तित्व अनि आत्मविश्वासी। मैले अमेरिकाबाट फर्किएपछि काठमाडौं मेरियटमा लामो भेटघाट र खानासँगै खायौँ। भेटको क्रममा धेरै कुराकानी भयो हिमाल चढ्ने कुरादेखि हिमालतिरका समस्याका बारेमा । मगरको छोरो हुँदा हिमाल चढ्ने कुरा कति गाह्रो रैछ भन्ने धेरै कुरा सुनायो। हिमालतिरको मोनोपोली अनि त्यो मोनोपोलीभन्दा बाहिर मगरको छोरो भएर पनि हिमालमा राज गरेको केटो हो निम्स। असामान्य र अद्भुत केटो।

त्यो भेटपछि निम्ससँग निरन्तर संवादमा थिएँ। उसका सफलताका किस्साहरू र व्यावसायिक योजना साटिहाल्थ्यो। आफ्नै स्कुलको अग्रज भएकोले पनि मलाई उसले सम्मानले “दाजु” भन्ने गर्छ। मेरो लागि उस (उ) भाइ थियो र छ “निम्स भाइ।”

अघिल्लो वर्ष मैले जलवायु सम्मेलनका लागि गोक्यो री जान लागेको कुरा सुनाएँ। उ दंग पर्यो। हिमाली यात्रा कसरी गर्ने भनेर लामो सुझाव दियो अनि मलाई एउटा टोपी, ज्याकेट र ट्रेकिङ ट्राउजर गिफ्ट पठाएछ। संयोगले म गोक्यो जाने समय उ सगरमाथा तिर नै हुने रैछ। म सहभागी हुन जान लागेको जलवायु सम्मेलनमा मलाई नि भेट्न आउने अनि कार्यक्रममा सहभागी हुने बाचा गरेको थियो। तर पछि आउन सकेन। 

उसको हिमाल चढ्ने क्रेजी स्वभावले यसपालि पाकिस्तान पुर्याएछ। पाकिस्तान जाँदै गरेको खबर पनि गरेको थियो अनि कुरा हुँदा पाकिस्तानको हिमाल टेकेपछि काठमाडौंमा भेट्ने कुरो थियो ब्रोड पिक हिमाल चढ्न। ८०४७ मिटर उचाइमा पुगेएपछि आएको हिमपहिरोले बगाएपछि निम्ससहितका १० जना वेपत्ता भएको सुन्दा मनै झसङ्ग भयो। अहिले सम्म ४ जना मृत अवस्थामा पत्ता लागेकोमा निम्ससहितका ६ जनाको खोजी कार्य जारी रहेको समाचारमा सुनिएको छ।

यो अत्यन्तै दुःखद समाचारले पूरा संसारलाई पीडा बनाएको छ। आशा छ, हिमालको जुन कुनामा हिउँले पुरिएका छन् या आफ्नो बचाउको संघर्ष गर्दै छन्, विश्वास छ त्यसलाई पार गर्नेछन्। उद्धार टोलीले चाँडो खोजेर निम्सलाई ल्याउनेछन्।

तिम्रो पर्खाइमा बसेका छौँ। विश्वास छ, बाँकी टोलीका सबै हराइरहेका सदस्यहरू सकुशल छन्। चाँडो फर्कि आउ निम्स

सम्बन्धित समाचार

ताजा न्यूज