काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। पदीय दुरुपयोग गरी ठेक्कापट्टाको भुक्तानीमा सहजीकरण गरेबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अभियोग अख्तियारले लगाएको छ।
अनुसन्धानका क्रममा अधिकारीले उक्त घुस रकम लुकाउन र वैध देखाउन श्रीमतीको बैंक खातामार्फत कारोबार गरी ललितपुरमा १३ आना जग्गा खरिद गरेको खुलेको छ। जग्गा खरिद गर्दा वास्तविक मूल्य लुकाएर ९१ लाख मात्रै देखाइएको तर घुसबापतको रकम प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आयोगको जिकिर छ। अख्तियारले अधिकारी र घुस दिने निर्माण व्यवसायी ढकाल दुवैलाई प्रतिवादी बनाएर बिगो, जरिवाना, कैद सजाय तथा जग्गा जफत गर्न मागदाबी गरेको छ।

