केही महिनादेखि हाम्रो पारिवारिक र व्यवसायिक समय बुबाको स्वास्थ्य अनुकूल नहुँदा कहिले वीर अस्पताल त कहिले शिक्षण अस्पतालमा दिनरात बितिरहेका छन्। हाल बुबाको स्वास्थ्य अवस्था अलि स्थिर रहेको छ। अस्पतालको बसाइमा स्वास्थ्यसम्बन्धी धेरै अन्तर्वस्तु र समस्याहरू देखिए, कुनै बेला लेखौँला। अस्पतालकै बसाइमा विलियम क्लेगको एउटा पुस्तक पढेँ। क्लेगले आफ्नो पुस्तकमा एक कानून व्यवसायीको कथा लेखेका रहेछन्, जसमा उनका पक्षले हत्या गरेबापत दोषी ठहरिएका अनि पछि निर्दोष साबित भएका मुद्दाको अन्तर्वस्तुबारे चर्चा गरिएको छ। पुस्तकको नाम ‘अन्डर द विग’ हो। म कानून व्यवसायीहरूलाई यो पुस्तक अध्ययन गर्न सुझाउँछु। उनले यस पुस्तकमा कानून व्यवसायीले कुनै गम्भीर र हाइ-प्रोफाइल फौजदारी मुद्दा लिँदा आइपर्ने अनेक अन्तर्वस्तु, कानून व्यवसायीबीच हुने अन्तरद्वन्द्व, त्यस्ता मुद्दामा प्रतिरक्षा गर्दा आइपर्ने अनेक विषय र कानून व्यवसायीमाथि हुने चुनौती, टेन्सन, डर-धाकधम्की, घृणाजन्य अभिव्यक्ति, नैतिक दोधार अनि दोषी साबित भई माथिल्लो अदालतबाट निर्दोष करार भइन्जेल आइपर्ने अनेक विषयबारे लेखेका छन्। उनले लेखिरहँदा फौजदारी न्यायभित्रका समस्या, चुनौती, कानून व्यवसायीको तयारी-प्रस्तुति, कानून व्यवसायीबीच सम्बन्धित मुद्दामा द्वन्द्व र कानून व्यवसायीको आत्मविश्वासलाई रोचक तरिकाले प्रस्तुत गरेका रहेछन्; पढ्न बसेपछि छोड्नै मन नलाग्ने गरी। केही समयदेखि मैले केही हाइ-प्रोफाइल मुद्दामा भोगेको अनि देखेको आफ्नो अनुभूतिलाई पुस्तकमा सीमित गर्ने विचार गरेको थिएँ। यो पुस्तकले मुद्दाको विषयमा केन्द्रित रही पुस्तक लेख्ने मेरो सोचलाई अलि जोड र प्रेरणा दियो। समय मिलेमा कुनै दिन लेख्ने प्रयास गर्दै छु। आजको शनिबार एउटा मुद्दाको अन्तर्वस्तुसँग सम्बन्धित दुईवटा घटना लेख्न मन लाग्यो।
मुद्दामा प्रस्तुत हुने कानून व्यवसायीहरूका आ-आफ्नै धारणा हुन्छन्। कुनै मुद्दा लिएकै कारण समाजले प्रशंसा गर्ने र घृणा गर्ने चलन हाम्रो समाजमा बढ्दो छ। कहिलेकाहीँ समान सोच भएका कानून व्यवसायीबीच पनि यस्तो अभिव्यक्ति देखिन्छ। त्यो व्यवसाय गर्ने अनुमति लिएका तर कानून व्यवसाय नबुझ्नेहरूका लागि मात्र हो। कानुन व्यवसायीको धर्म आफ्नो पक्षको प्रतिरक्षा गर्नु हो, त्यो पनि आधार, कारण, प्रमाण र सम्बद्ध तथ्य, कानून र नजिरको प्रस्तुतिले। न्याय पार्ने वा नपार्ने कुरा कानून व्यवसायीको प्रोभिन्स (क्षेत्र) भन्दा बाहिरको हो।

दिउँसोतिर एउटा समाचार आयो, कुनै राष्ट्रिय-अन्तर्राष्ट्रिय हिसाबले आफ्नो छुट्टै परिचय बनाएको व्यक्तिउपर गम्भीर फौजदारी अभियोगमा जाहेरी परेको। यो समाचारले देश-विदेशमा बस्ने नेपालीहरूबीच ठूलै तरङ्ग ल्यायो। पक्ष-विपक्षमा धेरै कुराहरू आए। सामाजिक सञ्जाल कमेन्टले भरियो। जाहेरी आउनासाथ प्रहरीले अनुसन्धान नै नगरी सार्वजनिकीकरण गर्यो, प्रहरीकै फेसबुकमा जाहेरी प्रकाशन गर्यो। समाचार पढ्नासाथ मेरो सामान्य नागरिकको मनभित्र रहेको इजलासले आरोपीलाई दोषी करार गरिसकेको थियो। हामी कानून व्यवसायीको एउटा धर्म हुन्छ न्याय र प्रतिरक्षाका लागि लड्ने। दोषी र निर्दोष छुट्याउने काम अदालतको हो। कानून व्यवसायीले आफ्नो तर्कलाई प्रमाणले पुष्टि गर्ने हो। किनकि, कानून व्यवसायी राख्न पाउने संवैधानिक हक प्रत्येक व्यक्तिको हुन्छ। राख्न सकेनन् भने आफैँले अभियोजन गर्ने राज्यले कानुनी सहायतामार्फत निःशुल्क कानून व्यवसायीसमेत प्रदान गर्दछ। अभियोग लागेको व्यक्ति दोषी प्रमाणित नहुँदासम्म निर्दोषिताको अनुमान हुने व्यवस्था छ भने स्वतन्त्र र निष्पक्ष स्वच्छ पुर्पक्ष र अनुसन्धानको प्रत्याभूतसमेत संविधान र कानूनले गरेको छ। तर व्यवहारमा यी कुराहरू गम्भीर संकटमा छन्; धेरै मुद्दामा अभियोग लागेको व्यक्तिलाई समाज र सामाजिक सञ्जालले ट्रायल गरिसक्छ। न्याय पाउँदासम्म सबै कुरा सकिसकेको हुन्छ। त्यसको उपचार हुँदैन, केवल न्याय पाएको अदालती कागजलाई सिरानीमा राख्नेबाहेक।
सिङ्गापुर ट्रायल
मैले अहिले याद गरेको घटना सिंगापुरको हो। माथि भनेको एउटा मुद्दाका सन्दर्भमा पक्षका आफन्त मेरो सम्पर्कमा आए, मुद्दा हेरिदिनका लागि। मुद्दा गम्भीर प्रकृतिको भएकाले मलाई निर्णय गर्न गाह्रो भयो। मुद्दाका बारेमा रोशनीलाई भनेँ, जबसम्म उनले पत्रिकामा मेरो नाम देखिनन्। किनकि, समाचार आउनासाथ हाम्रो दुवैको संयुक्त इजलासले दोषी करार गरिसकेको थियो। म के कुरामा कन्भिन्स थिएँ भने, रोशनीले यो मुद्दा मलाई लिन दिने छैनन्। मुद्दा लिएको धेरै समयसम्म हामी दुईबीच धेरै अन्तरद्वन्द्व पनि भए। त्यसैले रोशनीलाई मैले मुद्दा लिने-नलिनेबारे सल्लाह गर्न मन लागेन अनि बुबासँग परामर्श गरेँ। सो परामर्श गर्दागर्दै मलाई मुद्दाका बारेमा धेरै अन्तर्वस्तु र घटनाक्रम थाहा भइसकेको थियो। यसका धेरै कुरा कुनै बेला लेखौँला। मुद्दा लिनुअघि दोधारमा रहेको मलाई बुबाले कानुन व्यवसायीको भूमिका र कर्तव्यबारे सम्झाउनु भयो र भन्नुभयो “फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेकै हो भने पनि अपराधबमोजिमको फौजदारी दायित्व कायम मात्र गराउन सक्यौँ भने मुद्दा जित्नु हो। पछि प्रमाण बुझ्दै, अध्ययन-अनुसन्धान र तर्क इजलासमा प्रस्तुत गर्दै जाँदा तिम्रो पक्षले न्याय पाउला वा सजाय, तर मुद्दा आइसकेपछि लिन्न भन्नु कानून व्यवसायीको व्यवसायिक आचरण होइन, जबसम्म मुद्दा नै नलिने बलियो आधार छैन।” बुबाले त्यसो भनिरहँदा मलाई राम जेठमलानीको याद आयो।
मैले त्यतिबेलासम्म वित्तीय अपराधबाहेक अन्य फौजदारी कसुरका मुद्दा धेरै हेर्दैनथेँ। मेरो लागि आरोप लगाइएको कसुरको यो मुद्दा पहिलो थियो। धेरै चुनौतीपूर्ण, आफ्नो मनको एकल इजलास र रोशनी र मेरो संयुक्त इजलासले दोषी ठहर गरिसकेको मुद्दा थियो। म त्यतिबेलासम्म फौजदारी कानूनमा धेरै जानकार नभए पनि फौजदारी कानुनका महान कानुन व्यवसायी राम जेठमलानीको अनुयायीजस्तै थिएँ। मेरो लागि जिन्दगानीमा राम जेठमलानीसँगै खाना खान पाउनु एउटा अद्भुत समय थियो। उनै राम जेठमलानीको एउटा अन्तर्वार्ता मेरो दिमागमा अड्किएर बसेको थियो। उनले एउटा अन्तर्वार्तामा अभियोग लागेको कुनै व्यक्तिले आफूले कसुर गरेको स्वीकार गर्यो भने के गर्ने भन्ने सन्दर्भमा भनेका थिए– “अभियुक्तले कसुर स्वीकार गरेको कारणबाट मात्र कानून व्यवसायीले तिम्रो मुद्दा लिन्न भन्न मिल्दैन। राज्यले कस्तो कानुन बनाएको छ भने, जबसम्म सारभूत प्रमाणले अभियुक्त दोषी देखिन्न, कुनै व्यक्तिलाई दोषी मान्न सकिन्न। तिमीले पक्षको प्रतिरक्षा गर्दा सम्मानित अदालतलाई ‘मेरो पक्ष निर्दोष छ’ भन्ने होइन कि ‘मेरो पक्षलाई जुन अभियोग लगाइएको छ र जुन आधार, कारण र प्रमाणले दोषी करार गर्न खोजिएको छ, त्यो आधार, कारण र प्रमाण अपराध साबित गर्ने आधार हुन सक्दैनन्’ भन्ने हो। अपराध साबित गर्न सारभूत, विश्वासिलो, भरपर्दो र बलियो आधार हुनुपर्दछ।” अपराध गरेकै हो भने पनि अपराधले खामे जति मात्र सजाय हुने हो। बुबाको सल्लाह र राम जेठमलानीको विचारले मलाई मुद्दा लिने निर्णयमा पुग्न सजिलो बनायो।
मैले मुद्दा लिने निर्णय गर्दा मलाई सिङ्गापुर हुँदै लाओस जानुपर्ने थियो; कुनै अन्य कानुनी विषयको पक्षसँग परामर्श गर्न अनि लाओसमा हुँदै गरेको ‘एसिया प्रो-बोनो’ सम्मेलनमा प्रस्तुति दिन। मैले पक्षलाई “लाओसबाट फर्केपछि तिम्रो मुद्दा लिने-नलिने निर्णय गर्छु” भनेर सिङ्गापुर हिँडेँ। मेरो सिंगापुर यात्रा गर्ने दिन एकजना पत्रकार मलाई भेट्न आए। उनलाई कसरी यो मुद्दाका पक्षले मलाई सम्पर्क गरे, थाहा भएन तर मैले उनलाई आफू सिङ्गापुर जान लागेको बताएर एयरपोर्टतिर लागेँ। सिङ्गापुर पुगेपछि अमेरिका, युरोपतिरबाट आएका कानुन व्यवसायीसँग मेरो भेट भयो। गफगाफ अनि मिटिङ भयो, फोटोहरू खिचियो अनि मैले एउटा फोटो मेरो अमेरिकन कानून व्यवसायीसँग बसेको पोस्ट गरेँ। मैले फोटो पोस्ट गरेको केही छिनमै म सिङ्गापुर भएको दुनियाँलाई थाहा भयो। अब मैले आरोपीलाई भेटेको होइन भन्ने प्रश्न नै रहेन, नेपालमा रहेका पत्रिका र सामाजिक सञ्जाललाई। मेरो सिङ्गापुरको यात्राको उद्देश्य र वास्तविकता बुझिसरी मिडियामा आएछ। नेपालीलाई मिडियाको समाचार नै अन्तिम सत्य लाग्ने हाम्रो समाजको निर्णयप्रति म केही दिन अनभिज्ञ थिएँ। किनकि दुनियाँलाई मैले आरोपी भेट्न आएको भन्ने लागिसकेको रहेछ। मेरो सिङ्गापुरको बसाइलाई फरक उद्देश्य स्थापित हुने गरी ट्रायल भइसकेको रहेछ। म सिंगापुर पुगेपछि फेसबुकमा राखेको फोटोले धेरै पत्रपत्रिकामा मेरो नाम र फोटोसहित “म सिङ्गापुर आरोपीलाई भेट्न गएको” भन्ने समाचारले ठूलो ठाउँ पाइसकेको रहेछ। त्यो मेरो नितान्त व्यवसायिक र व्यक्तिगत यात्रा थियो। रेड कर्नर नोटिस जारी भएको पक्षलाई मैले भेट्नु व्यवसायिक आचरणविरुद्ध हुने कुराको मलाई पूर्ण ज्ञान र अनुभूति थियो र छ। म सिङ्गापुरबाट लाओस पुग्दासम्म मेरो विरुद्ध मिडिया ट्रायल भइसकेको रहेछ राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रपत्रिकामा, नेपाली र अङ्ग्रेजी दुवै भाषामा।

लाओसमा बयान
यो कुरा मलाई लाओस पुगेको दुई दिनपछि थाहा भयो, जब मलाई लाओसमा भेट्न दुईजना अपरिचित व्यक्तिहरू सम्मेलन स्थलमा खोज्दै आइपुगे। मलाई पहिचान गरे अनि कुनामा सोधपुछ गर्न लगे। मैले त्यतिबेलासम्म केही इमेल प्राप्त गरिसकेको थिएँ, जहाँ मलाई सोधिएको थियो– “मिस्टर घिमिरे, तपाईं किन सिङ्गापुर आउनुभयो ? कसलाई भेट्न आउनुभयो ? तपाईंको सिङ्गापुर आउने उद्देश्य के थियो? तपाईं नेपालको चर्चित फौजदारी मुद्दामा अभियुक्तको कानून व्यवसायी हुनुहुँदो रहेछ, के तपाईं अभियुक्तलाई भेट्न आउनुभएको हो?” यस्ता प्रश्नसहितका मेलहरू आएका रहेछन्। मलाई एकातिर अचम्म लाग्यो अनि अर्कोतिर डर पनि। डर कायम रहँदा रहँदै दुईजना सादा पोसाकका मानिसले मलाई कुनामा लगेर सोही कुराको सोधपुछ बयान लिए। मैले सबै कुराको तथ्य वर्णन गरेँ अनि नेपालका केही सामाजिक सञ्जाल, टीभी अनि पत्रिकामा स्पष्टीकरण र मेरो फेसबुकमार्फत ध्यानाकर्षण पनि गरेँ। मैले मेरो यात्रासम्बन्धी बयान दिएपछि ती व्यक्तिहरूले चित्त बुझाए अनि फर्के। यो घटनाले मलाई एकछिन विदेशी मुलुकमा डर पनि उत्पन्न गरायो अनि एउटा अनुभव पनि दियो। यो घटनाको बारेमा मैले रोशनीलाई नेपाल आएपछि मात्र सुनाएँ, किनकि यो घटनाले रोशनीलाई झन् डर लाग्ला अनि मैले मुद्दा लिने निर्णय गरेमा उनको फरक राय कायम रहला भनेर।
अब म मुद्दाको अन्तिम सुनुवाइको बारेमा केही कुरा राख्छु। मैले लिड गरेको यो मुद्दाको उच्च अदालतमा अन्तिम सुनुवाइ थियो। मैले लिड गरेको मुद्दामा प्रायजसो म अन्तिममा बहस गरेर मुद्दाको बिटो मार्छु। त्यसैले कहिलेकाहीँ मेरो लागि चाहिने बहस गर्ने समय पुग्दैन।
इजलास चोभार
दुई वर्षदेखिको फौजदारी कानून, विधिशास्त्र र राष्ट्रिय-अन्तर्राष्ट्रिय नजिरहरूको गहिरो अध्ययन गरेको मलाई, यो मुद्दाका लागि चाहिने समय करिब ३ घण्टाजति थियो। या भनूँ, ३ घण्टा बहस गर्ने मेरो तयारी थियो। इजलासबाट मलाई मिलेको समय बढीमा ३० मिनेट। विद्यार्थीलाई परीक्षा कोठामा प्रश्नपत्र आउँदा पढेका सबै प्रश्न आएको तर समय अभावका कारण प्रश्नहरू छुट्दा जस्तो गाह्रो हुन्छ, मलाई त्यस्तै पर्यो। ३० मिनेट मेरो बहसका लागि अति नै अपुग थियो। मलाई प्रत्येक कानूनी र तथ्यगत प्रश्नको प्रस्तुति दिनुपर्ने थियो। समय अभावले मलाई धेरै प्रेसर दिएको थियो। ३० मिनेटमा कहाँबाट सुरु गरी कहाँ अन्त्य गर्ने भन्ने दबाबका बीच ४० मिनेट सकिएको थाहा भएन। बहस रोक्नुपर्ने भयो। बहसको तर्क २५ प्रतिशत पनि सकिएको थिएन।
मलाई दिमागमा धेरै बोझ भएको अनुभूति भयो, प्रेसर बढेर आयो। साँझ फैसला आउँदा अभियुक्तलाई सफाइ मिल्यो, तर मलाई बहसको तयारी र समयको अभावका कारण बेचैनी भयो। दिमाग खाली गराउन सकिनँ। रातभर सुत्न गाह्रो भयो किनकि भोलिपल्ट बहस हुनेवाला थिएन। तयारी गरेका सबै तर्क इजलासमा बिसाउन नपाएको पीडा गाह्रो भयो। राति २ बजेतिर निदाएँ। बिहान ५ बजे बिउँझिएँ, तर हलुका भएन। दिमागको भारी कहाँ बिसाऊँ भन्ने भयो। पछि अरू कुनै मुद्दामा मेरो तर्क काम लाग्छ कि, बहसमा नसके पनि लेख्छु भन्ने लाग्यो, तर कलम चलेन, खाली दिमाग मात्र चल्यो के गरूँ, कसो गरूँ भन्ने। जुरुक्क उठेँ, तयार भएँ अनि सबै फाइल, पुस्तक र नजिर लिएर चोभारतिर लागेँ। चोभार पुगेपछि त्यही पार्कमा भएको चन्द्रागिरितर्फ फर्केको ठूलो ढुङ्गामा फाइल, पुस्तक, बहस नोट अनि नजिर राखेर चन्द्रागिरि मन्दिरतिर फर्केँ। मन्दिरलाई न्यायमूर्ति अनि चोभारलाई इजलास मानी हिजो बाँकी रहेको तर्कसहितको बहस करिब ९० मिनेट गरेँ। सन् १९९७-१९९९ तिर टीयूमा पढ्दा चोभार घुम्ने र एकान्तमा अध्ययन गर्ने स्थान हुन्थ्यो। त्यही यादले तानिएर चोभार लागेको थिएँ। ९० मिनेट लगातार चन्द्रागिरि मन्दिरलाई ‘श्रीमान्’ मानी बहस गरेँ। सकेपछि मन हल्का भयो। २ वर्षको अध्ययन र ज्ञानलाई एउटा शान्त वातावरणमा पस्के जस्तो लाग्यो। बिहान ७ बजेदेखि हिँड्न आउने मानिसहरूलाई मैले लोकसेवाको लागि तयारी गरिरहेको जस्तो लाग्यो होला। इजलास शान्त, सौम्य र सुन्दर प्राकृतिक थियो। अनि म बहसको धुनमा वाग्मती सरह निरन्तर बगिरहेको थिएँ र मुद्दा तयारीको बोझलाई सेलाउँदै थिएँ बिस्तारै-बिस्तारै…

