काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जना उच्च पदस्थ व्यक्तित्वहरूलाई धम्की दिएको अभियोगमा पक्राउ परेका प्रकाश पाठकलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पाठकमाथि लागेको आरोपको प्रकृति, उपलब्ध प्रमाण र विषयवस्तुको गम्भीरतालाई मध्यनजर गर्दै उनलाई कारागार पठाउने निर्णय गरेको हो।
पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ (एक्सटर्सन), हुण्डी कारोबार र विद्युतीय कारोबार ऐन अन्तर्गतका विभिन्न कसुरहरूमा मुद्दा चलाइएको थियो।
लामो समयदेखि फरार रहेका पाठकलाई इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष समन्वयमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनले अख्तियार प्रमुख प्रेमकुमार राई लगायतका राज्यका उच्च अधिकारीहरूलाई त्रसित बनाउने र धम्क्याउने कार्य गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यसै प्रकरणमा पाठकका साथै नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गराएको थियो। अदालतको यो आदेशसँगै पाठक अब मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहनेछन् भने यसले उच्च ओहोदाका व्यक्तिहरूलाई धम्क्याएर लाभ लिन खोज्ने समूहमाथि कानूनी कडाइको सन्देश दिएको छ।

