काठमाडौं । सार्वजनिक निष्कासन (IP0) मार्फत सर्वसाधारणबाट करोडौँ रुपैयाँ पुँजी उठाएको नेपाल रिपब्लिक मिडिया अहिले एउटा गम्भीर नैतिक र व्यावसायिक प्रश्नको घेरामा तानिएको छ। कम्पनीको नेतृत्व सम्हालेको ज्ञवाली परिवारका सदस्यहरू एक(एक गर्दै सञ्चालक समितिबाट बाहिरिनुले यसलाई केवल कार्यव्यस्तता मात्र नभई एउटा सुनियोजित एक्जिट प्लान (बहिर्गमन रणनीति) को रूपमा हेर्न थालिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई प्राप्त आधिकारिक जानकारी अनुसार, अध्यक्ष शोभा ज्ञवालीले वैशाख २९ गते आफ्नो पदबाट राजीनामा दिएकी छिन्। यो राजीनामासँगै नेपाल रिपब्लिक मिडियाको बोर्डबाट संस्थापक ज्ञवाली परिवारको उपस्थिति शून्य भएको छ। यसअघि नै विनोद ज्ञवाली र समृद्धि ज्ञवालीले सञ्चालक समिति छाडिसकेका थिए।
नेपालको पुँजी बजारमा ‘रियल सेक्टर’ र मिडिया हाउसहरू भित्रिनु सकारात्मक भए पनि, कम्पनीको वित्तीय अवस्था बलियो नभई IPO ल्याउनु र त्यसलाई धितोपत्र बोर्ड (SEBON) ले अनुमति दिनु आफैँमा विवादास्पद छ। यदि संस्थापकहरूलाई कम्पनीको भविष्यमाथि भरोसा हुन्थ्यो भने उनीहरू नेतृत्वमै रहेर सुधारको प्रयास गर्थे। तर, नेतृत्वबाटै बाहिरिनुले डुब्न लागेको जहाजबाट सबैभन्दा पहिले क्याप्टेन भाग्नु जस्तै सन्देश दिएको छ।अहिले संस्थापकहरूले नै डुब्न लागेको कम्पनीबाट हात झिक्नुले कर्पोरेट क्षेत्रमा ठुलो हलचल पैदा गरिदिएको छ।
वास्तवमा यो बहिर्गमन केवल नेतृत्व परिवर्तन मात्र नभई लगानीकर्तामाथि गरिएको एउटा ठुलो धोका हुन सक्ने विश्लेषण गर्न थालिएको छ। कम्पनी निरन्तर घाटामा रहेको र वित्तीय अवस्था कमजोर भएको बेला संस्थापकहरूले जिम्मेवारीबाट पन्छिनुले अबको केही समयमै लक-इनअवधि सकिने बित्तिकै आफ्ना सबै सेयरहरू बजारमा पठाएर उम्किने बाटो रोजेको देखिन्छ। यसले नेपालको पुँजी बजारमा एउटा गलत नजिर बसाएको छ, जहाँ संस्थापकहरूले सर्वसाधारणको पैसाले आफ्नो ऋण तिर्ने वा व्यक्तिगत गर्जो टार्ने र अन्ततः कम्पनीलाई बेवारिसे छाडेर हिँड्ने प्रवृत्ति मौलाउँदै गएको छ।
यस घटनाले धितोपत्र बोर्ड र नेपाल सरकारको फितलो नियमनलाई पनि उदाङ्गो पारेको छ। घाटामा रहेका र स्पष्ट भविष्य नभएका कम्पनीहरूलाई आईपीओ जारी गर्न दिँदा त्यसको जोखिम अन्ततः सर्वसाधारणको थाप्लोमा पर्छ भन्ने यो उदाहरण हो।


