कानुनमन्त्री सोविता गौतमको सम्पत्ति साढे १० लाख बैंक ब्यालेन्स र १५ तोला सुन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक विवरण अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको विभिन्न बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको देखिएको छ। बहुमूल्य धातुको सन्दर्भमा उनीसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा रहेको उल्लेख छ।

सम्पत्ति विवरणमा मन्त्री गौतमले आफ्नो ऋण र सवारी साधनको बारेमा पनि विस्तृत जानकारी दिएकी छिन्। उनले राष्ट्रिय वाणिज्य बैंकबाट गाडी खरिद प्रयोजनका लागि २० लाख रुपैयाँ ऋण लिएकोमा हालसम्म ७ लाख रुपैयाँ चुक्ता गरिसकेको जनाएकी छिन्। यसका साथै गाडी खरिदकै लागि उनले एभरेष्ट बैंकबाट थप २५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ। मन्त्री गौतमको नाममा बा ०१–०२९ च ४३३६ नम्बरको गाडी रहेको छ, जुन २६ लाख रुपैयाँमा खरिद गरिएको र यसको स्रोत ऋण तथा पारिश्रमिक रहेको खुलाइएको छ।

मन्त्री गौतमका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा पनि महँगो सवारी साधन र ठूलो अंकको ऋण रहेको पाइएको छ। विवरण अनुसार घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख रुपैयाँ ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेका छन्। उक्त गाडी खरिदको स्रोतमा बैंक ऋण र पारिश्रमिकका साथै पुरानो गाडीको सट्टापट्टा (एक्सचेन्ज) लाई देखाइएको छ। पारदर्शिता कायम गर्ने उद्देश्यले सरकारले लामो समयपछि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज